खोटाङको दिप्रुङमा जग्गा विवादले सिँचाई आयोजनामा ढिलासुस्ती

खोटाङ, २८ भदौ । सम्झौताअनुसार काम भएको भए खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लोकतान्त्रिक सिँचाई योजना हाल सञ्चालनमा आइसकेको हुन्थ्यो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे, दिप्रुङ चुइचुम्मा गाउँपालिका–सछितापोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका खेतमा सिँचाइ सुविधा पुगिसकेका हुन्थे । तर, सम्झौता म्याद नाघिसक्दा सिँचाई योजनाको करिब ६० देखि ६५ प्रतिशत मात्र काम सकिएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताए । २०७९ असार मसान्तभित्र काम सम्पन्न गर्नेगरी लोकतान्त्रिक सिँचाई आयोजनाको सम्झौता ७ मंसिर २०७६ मा गरिएको थियो ।

डिजाईन परिवर्तन, निर्माण कम्पनी स्काई रामसागर विवस जेभीको ढिलासुस्ती र कोभिड–१९ को महामारीका कारण लोकतान्त्रिक सिँचाई योजनाको काम सम्झौता अवधिमा पुरा हुन नसकेको हो । प्रदेश सरकारको ७ करोड ८२ लाखको लागतमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको सिँचाई आयोजनाको काम सुरु गरिएको हो । सुरुमा सिँचाई योजनाको नहर आरसीसी ढलान गर्नेगरी डिजाइन गरिएको थियो । सोही अनुसार रुटमा पर्ने क्षेत्रका जग्गाधनीबाट जग्गा व्यवस्था गरिएको थियो ।

तर, त्यसको केही समयपछि आरससीसी ढलानको सट्टा पाईप राख्नेगरी अर्को डिजाइन तयार पारेर काम अघि बढाइयो । आयोजनाको डिजाइन परिवर्तनले पाइप लाईन डाउन हुँदा नहरको रुट पनि परिवर्तन हुन पुग्यो । पाईप फुटेको खण्डमा जोखिम हुने भन्दै नयाँ रुटमा पर्ने जग्गादाताले जग्गा दिन अस्वीकार गरेपछि आयोजनाको काममा थप विलम्ब भएको हो । जमिनमा नगाडी तेस्र्याएर राखिएको पाईप फुट्दा विपत्ति निम्त्याउने त्रासले स्थानीयले जग्गा दिन अस्वीकार गरेको लोकतान्त्रिक सिँचाई योजना उपभोक्ता समिति अध्यक्ष खगेन्द्र राईले बताए ।

सिँचाई योजनाको ११ किलोमिटर पाईपलाईनको काम गर्नुपर्ने सम्झौता छ । मुहाननजिकै काठले पाइपलाई टेवा दिइएको पाइएको छ । ‘पहिला नहरको आरसीसी ढलान गर्ने भनेर रुटमा पर्ने जग्गा व्यवस्था गरिएको थियो । पछि ढलानको सट्टा पाईप राख्नेगरी डिजाइन परिवर्तन भयो,’ अध्यक्ष राईले भने, ‘पाईपलाई थोरै डाउन गर्दै राख्नुपर्ने भयो । त्यसो गर्दा पहिला सर्भे भएको ठाउँभन्दा तलबाट पाईपलाइन विस्तार गर्नुपर्ने अवस्था आयो । तर , नयाँ रुटमा पर्ने जग्गादाताले जग्गा दिन अस्वीकार गरे । जग्गा प्राप्त गर्न समय लाग्यो ।’ जग्गासम्वन्धी केही समस्या हल गरेर काम अघि बढाइएको र केही समस्या हल गर्न बाँकी रहेको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले जनाएको छ ।

निर्माण कम्पनी स्काई रामसागर विवस जेभीले माटो कटिङ, फिलिङ, मेसिनरी वाल, जाली, आरसीसी ढलान र पाइप जडानको ठेक्का लिएको छ । स्वयं उपभोक्ता समितिले पनि ५४ लाख बराबरको झाडी फाँड्ने, माटो कटिङ, फिलिङ, मेसिनरी वाल, जाली भर्ने र आरसीसी ढलानको जिम्मा लिएको छ । उपभोक्ता समितिले हालसम्म २६ लाखको काम गरिसकेको जनाएको छ । हालसम्म आयोजनाको काम भएवापत ५ करोड निकासा भइसकेको छ । सम्झौता म्यादभित्र सिँचाई योजनाको काम नहुँदा स्थानीय निरास बनेका छन् ।

सिँचाई योजनाको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । ‘जुन समयमा सक्नुपर्ने हो, त्यो समयमा सकिएन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘योजनाले सबैभन्दा बढी बतासेको इजरामा सिँचाई सुविधा पुग्ने छ । बारीलाई खेत बनाउने वातावरण बन्छ । तर काममा ढिलासुस्ती भएको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।