पहिरोका कारण मेची राजमार्ग अवरुद्ध
ताप्लेजुङ, ३१ भदौ । ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ ।
मेची राजमार्ग अन्र्तगत सेसबुमा गएराती पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ ।
प्लाइउड निर्यात
सुरुङ्गा (झापा), ३१ भदौ (रासस)ःनेपालबाट प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको छ । नेपाल भेनियर उत्पादक सङ्घ झापाका सचिव दिनेश चापागाईँका अनुसार नेपालमा ७९ वटा प्लाइउड उद्योग दर्ता रहेका छन् । तीमध्ये सञ्चालनमा रहेका ६३ वटा उद्योगले उत्पादन गरेको प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको सचिव चापागाईँले बताउनुभयो ।
पछिल्लो तीन महिनामा मात्रै नेपालले रु ५० करोडको प्लाइउड विदेश निर्यात गरेको छ । मुलुकमै सबैभन्दा धेरै प्लाइउड उद्योग झापामा छन् । झापामा मात्रै १६ उद्योग सञ्चालनमा रहेको सचिव चापागार्इँले बताउनुभयो । त्यस्तै मोरङ र सुनसरीमा १४ उद्योग सञ्चालनमा रहेको र देशभर ६३ प्लाइउड उद्योगले प्लाइ उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । नेपालमा खपत पर्याप्त भएर पनि जेठ, असार र साउन महिनामा मात्रै रु ५० करोड बराबरको प्लाइ विदेश निर्यात गरेको उहाँको भनाइ छ ।
विशेषगरी नेपालमा उत्पादित प्लाइ भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैङ्लोर, उत्तर प्रदेशमा धेरै खपत हुने गरेको नेपाल भेनियर उत्पादक सङ्घ झापाले जनाएको छ । प्लाइ काठबाट तयार पारिन्छ । यसलाई विशेषगरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउनसमेत प्रयोग गरिँदै आएको छ ।
हाल काठमा आधारित वस्तुको माग विदेशमा पनि बढिरहेका बेला प्लाइउडले विदेशी मुद्रा आर्जनमा सहयोगी भूमिका निर्वाह गरेकाले प्लाइउडमा आधारित उद्योगलाई राज्यले सहगोग पु¥याउनुपर्ने नेपाल भेनियर उत्पादक सङ्घ झापाका अध्यक्ष दीपक पाण्डेले बताउनुभयो ।


