तिहारमा राष्ट्रपतिको शुभकामना सन्देश

काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वासका साथ पुनः तिहार पर्व, २०७९ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

पौराणिक, सांस्कृतिक र व्यावहारिक महत्व बोकेको तिहार प्रकाशको पर्व पनि हो । त्यसैले तिहारलाई हामी दीपावलीका नामबाट समेत जान्दछौँ । उज्यालो आफैँमा प्रेरणाको विम्ब हो । दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना उहाँले गर्नुभएको हो ।

“तिहार पर्वले एकातिर प्रकृति, मानव र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्दछ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँदछ”, सन्देशमा भनिएको छ, “तिहारका अवसरमा खेलिने देउसी–भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेको छ ।”

राष्ट्रपति भण्डारीले असल परम्परा र अभ्यासले नेपाली संस्कृतिलाई जोगाउने तर बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हामीले क्रमशः हटाउँदै जानुपर्नेमा जोड दिनुभएको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीको ठूला चाडमध्ये एक महत्वपूर्ण र मौलिक चाडको रूपमा रहेको छ ।

यमपञ्चकका रूपमा समेत जानिने तिहार पर्वभित्र काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहारजस्ता विशिष्ट तिहार समेटिएका छन् । यस पर्वको अवसरमा धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा अर्चना गरी दीपावली गर्ने र दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरङ्गी टीकाका साथै सयपत्री र मखमली फूलको माला लगाई पूजा गरिनुका साथै देउसी–भैलो खेल्ने परम्परा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।