देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग
काठमाडौँ, ४ मङ्सिर । आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिनुभएको हो । साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताउनुभयो ।-(रासस)
उत्साह र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेकोछ- पूर्वप्रमुख आयुक्त
काठमाडौँ, ४ मङ्सिर (रासस) :प्रतिनिधिभा र प्रदेशसभा सदस्यका लागि आज भइरहेको मतदान उत्साह, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा भइरहेको छ ।
आमनिर्वाचन पर्यवेक्षण समितिका तर्फबाट निर्वाचन पर्यवेक्षणमा रहनुभएका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले व्यवस्थित र शान्तिपूर्ण ढङ्गबाट मतदान भइरहेको पाइएको बताउनुभयो ।
सप्तरी जिल्लामा निर्वाचनको पर्यवेक्षणमा रहनुभएका अर्का पूर्वप्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले उत्साहित र व्यवस्थितरुपमा पङक्तिबद्ध भएर मतदाता मतदानको अधिकार प्रयोग गरिरहेको प्रतिक्रिया दिनुभयो ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बिहान सबेरैदेखि मतदाता लाइनमा बसेर मतदानमा भाग लिइरहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्त वातावरणमा मतदान सञ्चालन भइरहेको छ, मतदाता उत्साहित छन्, कतिपय मतदानस्थलमा मतदाता बिहान सबेरैदेखि मतदानका लागि लाइनमा बसेको देखिन्थ्यो ।”
चिसो मौसमका कारण कतिपय मतदानस्थलमा बिहान ८ बजेदेखि मात्रै मतदाताको उपस्थिति बाग्लो भएको देखियो ।
पूर्वअध्यक्ष रेग्मीद्वारा मतदान
यसैबीच, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडाँै पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट बिहान ९ः४५ बजे मतदान गर्नुभएको छ । मतदानपछि रासससँग कुराकानी गर्दै उहाँले देशको भाग्य र भविष्य निर्माण गर्ने मतदानमा भाग लिन सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो ।
पूर्व प्रधानन्यायाधीश रेग्मीले भन्नुभयो, “शान्तिपूर्ण, सहज र सरलरुपमा मतदाताले मतदान गरिरहनु भएकोछ, दिउँसो मतदाताको उपस्थिति अझै बाक्लो हुने अनुमान गरेको छु ।”


