पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

डम्मर बुढामगर/ढोरपाटन, १४ मङ्सिर । हेटाँैडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आउनुभयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराख्नुभएको छ ।

दुईपटक त उहाँले बञ्जीजम्प गरिसक्नुभयो । परिवारसहित घुम्न आउनुभएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा हुनुहुन्छ । यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै भएको हुँदा अझै केही दिन बागलुङ र पर्वतमा रहने घिमिरे बताउनुहुन्छ । हेटाँैडाको कोलाहलबाट यहाँ घुम्न आउँदा शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ बनेको उहाँको भनाइ छ ।

घिमिरे भन्नुहुन्छ, “म अहिलेसम्म तीनपटक बञ्जीमा आएँ, दुईपटक त बञ्जीजम्प पनि गरेँ तर अझै पनि मेरो रहर मेटिएको छैन, यहाँ बसिरहुँ, घुमिरहुँ लाख्छ, हेटाँैडामा बस्दा दिमाग ह्याङ्ग भएको थियो, यहाँ आएपछि रिफ्रसमेन्ट भएको छ, यो हाम्रो पारिवारिक घुमघाम हो अझै केही दिन बागलुङ र पर्वतमा रहेका घुम्ने ठाउँ अवलोकन गरेर फर्किने छौँ ।”

चितवनबाट बञ्जीजम्प गर्न बागलुङ आउनुभएकी रजनी ढकालले यो ठाउँ निकै रमाइलो लागेको बताउनुभयो । टिकटक र फेसबुकमा धेरैले बञ्जीजम्प गरेको देखेपछि आफू पनि आएको बताउनुहुन्छ । ढकालले भन्नुभयो, “बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो, तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदोरहेछ, फेरि एकपटक बञ्जी गर्ने रहर लागेको छ, बिदा मिलाएर अर्कोपटक आउने मन छ ।”

उहाँले योभन्दा होचो स्थानमा रहेका बञ्जीमा आफूले यसभन्दा अगाडि पनि बञ्जी गरेको भन्दै यहाँ गर्दा निकै आनन्द आएको बताउनुभयो । “यो ठाउँ निकै रमाइलो रहेछ, यसभन्दा अगाडि पनि म बञ्जी गरेको थिएँ तर अहिलेको जस्तो मज्जा आएको थिएन, यत्तिको अग्लोमा पनि गरेको थिएन, सुरुमा अलिअलि डर पनि लागेको थियो तर पछि निकै रमाइलो लाग्यो”, उहाँले भन्नुभयो ।

बञ्जीसँगै तल कालीगण्डकी नदी र माथि धवलागिरि हिमालको दृश्यले आफूलाई मोहित बनाएको ढकालले बताउनुभयो । उहाँ यस्तो ठाउँ संसारमा जहाँकहीँ नहुने बताउनुहुन्छ । उहाँले यो क्षेत्र घुम्नका लागि निकै उपयोगी रहेको बताउनुभयो ।

“यस्तो ठाउँ विश्वमा सायदै हुन्छन् होला, बञ्जीजम्पको तलपट्टि पवित्र कालीगण्डकी नदी, माथि हेर्दा धवलागिरि हिमाल देखिँदोरहेछ, यो ठाउँ साँच्चिकै स्वर्गजस्तै छ”, उहाँले भन्नुभयो, “यो ठाउँले धेरैलाई आकर्षित गर्छ, हामी नेपालीलाई त यति मोहित बनाउँछ भने विदेशीहरू त झन् लोभिन्छन् होला ।”

पोखराबाट घुम्न आउनुभएकी ८३ वर्षीया जमुना अधिकारीले यो ठाउँ र बञ्जी निकै रमाइलो लागेको बताउनुभयो । घिमिरे भन्नुहुन्छ, “नाति केटाले मोबाइलमा यो बञ्जीको भिडियो देखाएको थियो, भिडियो देख्दा मलाई निकै रमाइलो लाग्यो, आज यहाँ आउने मौका मिलेको छ, म त बूढी मान्छे आज हो कि भोलि, यो देख्न पाउँदा खुसी लाग्यो, यो बनाउनेलाई धन्यवाद छ ।”

बञ्जीजम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएको हो । बञ्जीजम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताउनुभयो । उहाँले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक बञ्जीमा घुम्न आउने गरे पनि सीमित मान्छेले मात्रै साइक्लिङ र बञ्जी गर्ने गरेको बताउनुभयो । पछिल्लो समय विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको उहाँको भनाइ छ ।

“बिदाको दिन बढी पर्यटक आउनुहुन्छ, अहिले दैनिक तीन–चार सय पर्यटक यहाँ घुम्न आउनुहुन्छ, तर थोरैले मात्रै बञ्जीजम्प गर्नुहुन्छ, हामीले सुरु गर्दा पर्यटकको आगमन निकै कम थियो, अहिले बढ्दै गएको छ”, प्रधानले भन्नुभयो ।

बञ्जीसँगै बलेवा क्षेत्रमा रेष्टुरेण्ट, गुलेली पिङ, स्काइ साइक्लिङलगायत आधा दर्जन बढी संरचना निर्माण भएका छन् । ती संरचनामा पनि पर्यटकको घुइँचो लाग्न थालेको प्रधानको भनाइ छ । अहिले स्विङ, स्काइ साइक्लिङ र बञ्जी गर्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । उहाँका अनुसार बाह्य पर्यटक पनि यहाँ आउन थालेका छन् ।

बञ्जीजम्प निर्माण गर्दा सुरुमा रु २० करोड लागत लाग्ने अनुमानले संरचना निर्माण सुरु गरेको भए पनि लागत बढ्दै गएपछि अहिलेसम्म रु ५० करोडको हाराहारीमा खर्च भइसकेको उहाँको भनाइ छ । यहाँ बञ्जीसँगै अन्य धेरै संरचना निर्माण गर्दा बढी लागत लागेको उहाँ बताउनुहुन्छ ।

विसं २०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो । यसको लम्बाइ पाँच सय २५ मिटर छ । खोलादेखि पुलको उचाइ दुई सय २८ मिटर छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ । बञ्जीजम्पका कारण बलेवा र कुश्मामा व्यापारव्यवसाय बढ्दै गएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।