खोटाङ जन्तेढुंगाका मुटु रोगी देउकुमारलाई उपचार खर्च सहयोग
खोटाङ, ३ पुस । मुटुसम्वन्धी समस्याले ग्रसित खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवाका २२ वर्षीय देउकुमार राईलाई उपचार सहयोग जुटेको छ । हाल सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा उपचार गराइरहेका देउकुमारका लागि चिसापानी घर भई हाल यूके रहेका भूपू गल्लावाल समाजसेवी टंकबहादुर राईको पहलमा एक लाख १० हजार ९०० रुपैयाँ सहयोग जुटेको हो ।
आफ्नै गाउँठाउँका युवालाई मुटुको समस्या भएपछि उपचारका लागि अस्पताल पुगेको खबर सुनेपछि भूपू गल्लावाल राईले आफू, आफ्नो आफन्त र अन्य सहयोगीबाट उपचार खर्च उठाएर पठाएको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र विष्टले बताए ।
सिंगापुर प्रहरीबाट अवकाश लिएर केही दिनका लागि नेपाल आएका समाजसेवी सन्तोष राईले उक्त रकम अस्पतालमै पुगेर देउकुमारलाई हस्तान्तरण गरेका छन् । सानैदेखि मुटुको समस्याले पिडित देउकुमारलाई थप समस्या देखिन थालेपछि अस्पताल भर्ना गरिएको हो ।
शिक्षाप्रेमी न्यौपाने सम्मानित
रसुवा, ३ पुस (रासस):दुर्गम गाउँमा विद्यालय भवन निर्माण तथा छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गर्ने कालिका गाउँपालिका–५ ज्याङ्लाङ निवासी दुर्गानाथ न्यौपाने ( बलराम)सम्मानित हुनुभएको छ ।
रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष न्यौपानेलाई रसुवास्थित दुप्चेश्वर आभारभूत विद्यालय खाल्चेतले विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
निजी क्षेत्रका दाताबाट आर्थिक सहयोग जुटाइ विगतका समयमा गुणस्तरीय विद्यालय भवन निर्माण गर्नुका साथै अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामग्रीसमेत उहाँले प्रदान गर्दै आउनुभएको छ । शिक्षाप्रेमी एवं सामाजिक अभियानकर्मी न्यौपानेलाई विद्यालयको अगुवाइमा समुदायस्तरबाटै सम्मान गरिएको प्रधानाध्यापक भरत तामाङले बताउनुभयो ।
विसं २०७२ को भूकम्पले अधिकांश घर पूर्णरूपमा क्षति भएको अवस्थामा समेत सोे विद्यालयको भवनमा क्षति नभएको जनाइएको छ ।
सोही कार्यक्रमअन्तर्गत खाल्चेत गाउँमा विद्यालय स्थापना गराइ शैक्षिक जागरण ल्याउने संस्थापक अध्यक्ष एवं ज्येष्ठ नागरिक बाबुलाल तामाङलाई सम्मान र स्थापनादेखि अविछिन्नरूपले अध्ययन गराइ सेवानिवृत्त हुनुभएका शिक्षक प्रेमप्रसाद पौडेललाई बिदाइ गरिइएको थियो ।
यस्तै सामाजिक अभियानकर्मी न्यौपानेको सहयोगअन्तर्गत धैवुङ तथा भोर्ले क्षेत्रका थुप्रै विद्यालय लाभान्वित भएका छन् । विगतमा ज्याङ्लाङ विद्यालयको भवन निर्माण, नमूमा मावि जिवजिवेलाई जग्गा खरिद र भवन निर्माणमा सहयोग, बेताङ, सरसिउ, घोर्मु, सिस्नेरी, धारापानी, कालिका, बोगटीटारसमेतका थुपै विद्यालयमा आर्थिक तथा शैक्षिक सामग्री प्रदान गर्दै आउनुभएका थियो । उहाँले विगतमा जिवजिवे अस्पताललाई स्वास्थ्य उपकरण, जग्गा खरिदका लागि आर्थिकसमेत व्यवस्थान गर्नुभएको थियो ।


