पूर्वको प्रसिद्ध साप्सुधाप ओझेलमा
युवराज विष्ट/भोजपुर, १४ पुस (रासस)ः धार्मिक र पर्यटकीयस्थल साप्सुधाप प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । पूर्वको प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको यो स्थान प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको हो ।
यहाँ दर्शन गरे चिताएको पुग्ने जनविश्वास रहेकाले विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । यहाँ दर्शनका लागि भोजपुर, खोटाङ, धनकुटा, सोलुखुम्बु, विराटनगर, काठमाडौँलगायत ठाउँबाट मानिस आउने गरेको स्थानीयवासीको भनाइ छ ।
भोजपुरको चखेवा भञ्याङबाट करिब १० किलोमिटर टाढा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने यो मन्दिरमा दर्शन गरे चिताएको पुग्ने स्थानीयवासी रुद्रबहादुर कठायतले बताउनुभयो । यहाँ प्रत्येक वर्षको जनैपूर्णिमामा मेला लाग्ने गरेको छ ।
“साप्सुधापको निकै ठूलो धार्मिक महत्व छ”, उहाँले भन्नुभयो, “यहाँ देशका धेरै ठाउँबाट मानिस आउने गरेका छन् । यहाँ दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।” मानिसले गरेको कामको सफलताका लागि साप्सुधापको भाकल गर्ने गरेको र सन्तान नभएका दम्पतीहरूको सन्तान पनि प्राप्त हुने विश्वास गरिन्छ । धापसम्म पुग्न नसक्ने मानिस साप्सुखोला तथा अन्य ठाउँबाट साप्सुधापतिर फर्केर पूजा आराधना गर्ने चलन रहेको कठायतले जानकारी दिनुभयो ।
यहाँ पञ्चकन्या, साप्सु जयपति, जलसिकारी, शिद्ध सिकारीलगायतको पूजा गरिने अर्का स्थानीयवासी सन्तोष कठायतले जानकारी दिनुभयो । पूजा गर्ने ठाउँको संरक्षणका लागि काम भइरहेको छ । यो देवस्थलको विकासका लागि दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाको करिब रु एक करोड बराबरको लागतमा विभिन्न संरचना बनेका छन् । यहाँ मन्दिर निर्माणसँगै आवश्यक घेराबारा तथा चारवटा द्वारसमेत निर्माण गरिएको छ । भक्तजनको सुविधाका लागि पाटीपौवा तथा शौचालय निर्माण गरिएको छ ।
पेलुङ बजारबाट २७ किलोमिटर कच्ची सडक पार गरेपछि त्यहाँ पुग्न सकिन्छ । कच्ची सडक खनिए पनि मर्मतसम्भार नहुँदा भक्तजनलाई आवतजावतमा केही समस्या रहेको अर्का स्थानीयवासी राजकुमार कठायतले बताउनुभयो । यात्रुलाई सहज गराउन सडक विस्तारसँगै आवश्यक प्रचार–प्रसार गर्न सके पूर्वको महत्वपूर्ण धार्मिकस्थलका रूपमा यो स्थल स्थापति हुने उहाँको जिकिर थियो ।
“यो स्थलको दर्शन गर्न देशभरबाटै नै भक्तजन आउने गरेका छन्” राजकुमारले भन्नुभयो, “मानिसहरुले आफ्नो भाकल पूरा भएको भन्दै धेरै भेटीसमेत दान गरेको अवस्था पनि छ । छोटो सडक निर्माण गरेर प्रचार–प्रसार गर्ने हो भने पूर्वको प्रसिद्ध धार्मिकस्थलका रूपमा यो स्थलको विकास गर्न सकिन्छ ।”
मन्दिर निर्माण, घेराबारा तथा आवतजावतका लागि बाटोसमेत निर्माण गरिएपछि केही सहज भएको स्थानीयवासीको भनाइ छ । यसलाई अझ प्रचार गर्न सके पूर्वको एक प्रसिद्ध स्थानका रूपमा स्थापित हुने स्थानीयवासी खम्बजित राईले बताउनुभयो । “विगतको तुलनामा यहाँको संरचनामा केही परिवर्तन भएको छ”, उहाँले भन्नुभयो, “तर यो पर्याप्त होइन । मानिसको यति ठूलो आस्थाको केन्द्रका रूपमा रहेको यो प्रसिद्ध धार्मिकस्थल गुमनामजस्तो हुनु दुःखको कुरा हो ।”
धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो स्थानको थप संरक्षणसँगै प्रचार–प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटनको आगमन बढ्ने स्थानीयवासी लोकबहादुर कटुवालले बताउनुभयो । प्रचार तथा विकासमा स्थानीय तहसँगै राज्यलेसमेत ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।
“राज्यले पनि यस्ता क्षेत्रको विकासमा ध्यान दिन आवश्यक छ”, कटुवालले भन्नुभयो, “यसको महत्वबारे देश–विदेशमा पचार गर्न सके यहाँको आर्थिक विकासमासमेत टेवा पुग्ने देखिन्छ । मानिसहरूमा यो स्थानको बारेमा छुटै आस्था र विश्वास छ तर प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको देखिन्छ ।”


