प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

मोरङ, २७ पुस (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिनुहुने हुनुभएको छ । उहाँले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हाल्नु भएको थियो । उहाँलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले समर्थन जनाउनुभएको थियो ।

नारायणीमा डल्फिन भेटिएपछि संरक्षणकर्मी उत्साहित
– टेकराज पोखरेल
नवलपुर, २७ पुस (रासस) ः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् ।

“पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो”, संरक्षणकर्मी टेक महतोले भन्नुभयो, “यसले हामीलाई निकै हौसला दिएको छ ।” महतोले गत मङ्सिर १४ गते, पुस १३ गते र पुस २६ गते नवलपुरको अमलटारीघाटमा डल्फिन देखेको बताउनुभयो ।

“नारायणी नदीमा डल्फिन छ भनेर हाम्रा बाबुबाजेले भनेको सुन्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले आफ्नै आँखाले डल्फिन देख्न र फोटो खिच्न पाउँदा निकै खुसी लागेको छ ।” उहाँले अमलटारीघाटमा मात्रै नभएर कहिले केही तल सेहरी त कहिले पितौजीघाटसम्म देखिने गरेको जानकारीमा आएको बताउनुभयो ।

“कहिले अमलटारीबाट दक्षिणमा रहेको मध्यविन्दु नगरपालिकाको नन्दपुर तथा सेहरीमा डल्फिन देखिएको सुन्छु, कहिले उत्तरतर्फ गैँडाकोट नगरपालिकाको पितौजीघाटमा डल्फिन देखिएको खबर आउँछ”, महतोले भन्नुभयो, “यी सबै ठाउँमा देखिएका डल्फिन एउटै हुन् वा फरक हुन् भन्नेबारे भने अध्ययन हुनसकेको छैन ।” सन् २०१८ मा नारायणीमा डल्फिन देखिएपछि गत वर्षमात्रै चरा गणनाको बेलामा महतोले नै भेलौजी पोष्ट नजिक डल्फिन भेटेर फोटो खिचेको स्मरण गर्नुभयो ।

“सन् २०१८ मा डल्फिन भेटिएको सुनेको थिएँ, त्यसपछि सायद डल्फिन देखिएको थिएन”, उहाँले भन्नुभयो, “गतवर्ष चरा गणनाका बेलामा मैले भेलौजी पोष्ट नजिक दुई डल्फिन देखेको थिएँ ।” यसपछि भने आफूहरु धेरैपटक डल्फिन देखेको महतोको भनाइ छ । “हाम्रो नारायणीमा डल्फिन देखिनु गौरवको कुरा हो”, उहाँले भन्नुभयो, “डल्फिनलाई नजिकबाट देख्न पाउँदा निकै आनन्द आउँछ ।”

अमलटारीघाटमा पटक–पटक डल्फिन देखिँदा पनि यसको स्थानीय प्रशासनले संरक्षणमा चासो नदेखाएको महतोले गुनासो गर्नुभयो । “डल्फिन निरन्तर देखिएको यो क्षेत्रमा माछा मार्ने तथा अन्य गतिविधि हुने गरेको छ”, महतोले भन्नुभयो, “तर, स्थानीय प्रशासनको संरक्षणमा चासो देखिएन ।” माछा मार्न बोटेहरुले तियारी जालको प्रयोग गर्दा संरक्षणमा नै चुनौती थपिनसक्ने महतोको भनाइ छ ।

“घडियाल गोहीको मुखमा तियारी जाल अल्झिएको देखेर मैले फोटोसमेत खिचेको छु”, उहाँले भन्नुभयो, “सङ्कटापन्न जीवजन्तुको संरक्षणमा सबैको हातेमालो आवश्यक छ ।” एकान्त तथा धेरै हल्ला नहुने क्षेत्रमा डल्फिन भेटिने गरेको भए पनि यस क्षेत्रमा मानवीय क्रियाकलाप बढी हुने उल्लेख गर्दै महतोले यसबारे प्रशासनले कडाइ गर्नुपर्ने बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नारायणी नदीमा डल्फिन भेटिनु भनेको संरक्षणमा सकारात्मक कुरा भएको बताउनुभयो । “यो सकारात्मक कुरा हो, हामीले नदीमा मान्छेको मुभमेन्ट कम गर्न सेना तथा निकुञ्ज प्रशासनको गस्ती बढाएका छौँ”, उहाँले भन्नुभयो, “नदीमा आश्रित समुदायलाई माछा मार्न दिइएको भए पनि तियारी जाल प्रतिबन्ध गरेका छौँ ।” नदीमा तियारी जाल प्रयोग गरेर लुकिछिपी माछा मार्ने व्यक्तिलाई निकुञ्जले निकुञ्ज ऐनअनुसार कारबाही गर्ने गरेको तिवारीले बताउनुभयो ।

“निकुञ्ज ऐनले नै नदीमा आश्रित बोटेमाझी जातिलाई माछा मार्न दिने व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “नदीमा माछा मार्न नयाँ लाइसेन्स दिएका छैनौँ, पुरानाको भने नियमित नवीकरण हुने गरेको छ ।” नदीमा घडियालको उपस्थिति कस्तो छ भन्ने बारेमा राष्ट्रियस्तरको सर्वेक्षण हुनुपर्ने सहायक संरक्षण अधिकृत तिवारीले बताउनुभयो ।

“हामीले घडियाल अनुगमनसँगै डल्फिनको पनि अनुगमन गर्न सक्छौँ”, तिवारीले भन्नुभयो, “अनौपचारिक रुपमा हामीले पनि अध्ययन गरेका छौँ, तर विभागले औपचारिक रुपमा गणना गरेको अवस्थामा राम्रो हुन्छ ।” नारायणी नदीमा डल्फिन भेटिँदा संरक्षणसँगै यहाँको पर्यापर्यटनमा सकारात्मक प्रभाव पर्ने संरक्षणकर्मी डिबी चौधरीले बताउनुभयो ।

“नदीमा डल्फिन देखिने क्रम बढेसँगै यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न सक्छ”, उहाँले भन्नुभयो, “यसले संरक्षणसँगै स्थानीयवासीको आयआर्जनमासमेत वृद्धि गर्छ ।” डल्फिन संरक्षणका लागि संरक्षणकर्मीसँगै सरकारी र समुदायको समेत महत्वपूर्ण भूमिका रहने चौधरीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।