हलेसी आउने पर्यटकलाई लक्षित गर्दै पर्यटक गाइड तालिम

खोटाङ, २८ पुस  । हलेसी तुवाचुङ नगरपालिकाले त्रि–धार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीलाई लक्षित गर्दै पर्यटक गाइड तालिम सुरु गरेको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटक एवं दर्शनार्थीलाई हलेसीको धार्मिक, ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय महत्वका बारेमा जानकारी गराउने जनशक्ति उत्पादनका लागि नगरपालिकाले पर्यटक गाइड तालिम सुरू गरेको हो ।

नगरभित्रका हलेसीसहित अन्य धार्मीक स्थलमा आउने पर्यटक, तिर्थालु भक्तजन एवं अतिथिलाई धार्मिकस्थलहरूको महिमा र महत्व बुझाउनका लागि नगरपालिकाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेण्टसँगको सहकार्यमा आठ दिने पर्यटक गाइड तालिम सुरु गरेको हो । 

तीन धर्मको धार्मिक सहिष्णुतालाई कायम राख्दै आन्तरिक तथा वाह्य पर्यटक र दर्शनार्थीलाई हलेसीको वास्तविक विषयवस्तु बारे जानकारी गराउने र सो काम गरेबापत स्थानीयलाई स्वरोजगार बनाउने लक्ष्यका साथ नगरपालिकाले पर्यटक गाइड तालिम आयोजना गरेको हो । बुधबार सुरु भएको तालिममा सात महिला र १८ पुरुष गरी २५ जना सहभागी भएका छन् । पर्यटक गाईड तालिमका लागि नगरपालिकाका ३३ जनाको आवेदन परेको थियो । तालिममा सहभागिताका लागि नगरपालिकाले गत ८ मंसिर आवेदन खुलाएको थियो । 

हलेसी आइपुगेका पर्यटक एवं दर्शनार्थीलाई कतिपय स्थानीयले हलेसी तथा हलेसी आसपासका धार्मिक तथा पर्यटकीयस्थलको विषयमा आ-आफ्नो तरिकाले व्याख्या र वर्णन गर्दै आएकाले आधिकारिक गाईड तयार पार्न लागिएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले बताइन् । स्थानीयले मनोमानी तरिकाले हलेसीको वर्णन गर्दा हलेसीको ऐतिहासिकता ओझेलमा पर्ने र कतिपय अपव्याख्या हुने भएकाले नगरपालिकाले तालिम प्राप्त टुरिष्ट गाइड तयार पार्न लागेको हो ।

तालिममा सहभागीलाई हिन्दु, बौद्ध र किरात धर्मावलम्बीसँग सम्वन्धित धर्मगुरु एबं जानकारमार्फत हलेसी, बसाहा गुफा, मञ्जुश्री गुफा, तुवाचुङ, ताराखसे लगायतको धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्वका विषयमा जानकारी दिने व्यवस्था मिलाइएको छ । तालिम प्राप्त गाइडलाई सूचीकरण गरेर कार्यविधि तयार पारेर परिचालन गरिने छ । 

पर्यटक गाइड नहुँदा हलेसीमा कतिपय स्थानीयले हलेसीको बारेमा अध्ययन नै नगरी आ-आफ्नै तरिकाले वर्णन गर्ने गरेको नगरपालिकाले जनाएको छ । हलेसीको तथ्य बंग्याएर वर्णन गरिँदा कतिपय अवस्थामा धार्मिक सहिष्णुतामाथि खलल पुग्ने अवस्था देखिएको मयर राईले बताइन् ।

पर्यटक गाइड तालिममा सहभागीलाई नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेण्टका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सह-प्राध्यापक तथा संकृतविद् डा. लोकनाथ दुलाल, बौद्धधर्म गुरु पुण्यप्रसाद पराजुली र किरात मुन्धुम अध्येता भोगीराज चाम्लिङले सहजीकरण गरिरहेका छन् । 

मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा स्वदेशीबाहेक चीन, सिंगापुर, जापान, रुस, फ्रान्स, युक्रेन, अमेरिकालगायतबाट पर्यटक आउने गरेका छन् । त्यसमा पनि बढीजसो धार्मिक पर्यटक छन् । धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेव गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरब गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफालगायतका प्राकृतिक आकृतिको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थी हलेसी आउने गरेका छन् । 

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङ स्थल रहेको लगायतका आधारमा हलेसीलाई त्रि–धार्मिकस्थल मान्ने गरिएको छ । मारातिका गुम्बा रहेकाले हलेसीमा हरेक हिउँद विश्वभरका बौद्धमार्गीहरुले ४-५ महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।