थारू समुदायमा माघीको तयारी

राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर, २८ पुस (रासस): कृष्णपुर नगरपालिका–६ का वीरबहादुर राजवंशी निकै व्यस्त हुनुहुन्छ । माघी पर्व आउन केही दिनमात्रै बाँकी रहँदा उहाँको व्यस्तता बढेको छ ।

सुँगुरको व्यवस्था मिलाउने, कुटानी पिसानी गर्ने र तोरीको तेल पेल्ने काममा उहाँ लाग्नुभएको छ । “माघी पर्वमा पाहुनालाई सत्कार गर्न आवश्यक सामग्रीको जोहो गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “महिला सालका पात टिप्ने र दुना टपरी बनाउने, दाउरा ल्याउने, माछा मार्ने काममा लागेका छनु ।”

गुलियो जाँड बनाउने, घरमै मदिरा बनाउने, माघीमा पाहुनालाई पस्किने परिकार ढिक्री बनाउनका लागि चाहिने वस्तुको जोहोमा महिला बेफुर्सदिला भएको उहाँले बताउनुभयो । पुसको अन्तिम दिनदेखि माघी पर्व सुुरु भइसक्ने भएकाले त्यसअघि नै पूर्वतयारीमा जुटेको उहाँको भनाइ छ ।

“वर्षभर गरिने कामको समीक्षा गर्न पूर्वतयारी थालेका छौँ”, उहाँले भन्नुभयो, “वर्षभर गर्ने कामको लेखाजोखा गरी पारिवारिक योजना माघीमा तयार गरिन्छ, त्यसैअनुरुप वर्षभर काम गरिन्छ ।” दिदीबहिनी, आफन्त र इष्टमित्रलाई माघी पर्वमा सहभागी हुनका लागि निम्ता दिने कार्य सुरु भएको उहाँले बताउनुभयो ।

माघी पर्वमा आयोजना हुने नाचका लागि मादलको व्यवस्थासँगै नाच्ने युवायुवतीको समूह निर्माणका लागि छलफलको कार्य गरिसकिएको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वडघर रामप्रसाद डगौराले बताउनुभयो । “नाच टोली गठन गरी नृत्यका लागि तयारी गर्न भनेका छौँ”, उहाँले भन्नुभयो, “गाउँको सामूहिक कार्यका लागि कुन–कुन योजना बनाउने भन्नेबारे पूर्वतयारी गर्र्दैछौँ ।”

परिवारको मुलीले घरको योजना र गाउँको मुली मान्छेका रूपमा रहेका वडघरले वर्षभरि गरिने गाउँको योजना बनाउने गर्दछन् । त्यसमा विवाह, अंशवण्डा, विकास निर्माणलगायत पर्ने गर्दछन् । माघीका लागि सुँगुर गाउँबाटै खरिद गर्ने कार्य गरिएको सुरेश चौधरीले बताउनुभयो ।

“माछा मार्नका लागि पहिला नदी तलाउमा सामूहिक र एक्लाएक्लै रूपमा मार्ने गर्दथे”, उहाँले भन्नुभयो, “हाल नदी, तलाउलगायतमा विषादी हालेर माछा मार्ने कार्य हुन थालेपछि माछा पाइन छाडेका छन्, त्यसैले धेरैले बजार र पोखरीमा पालिएका माछा खरिद गर्ने गरेका छन् ।”

कुटानी–पिसानी मिलमै कुटिएको धानको चामलकै प्रयोगलाई बढावा दिन थालिएपछि महिलाले बिहानीको झिसमिसेमै उठेर माघीका लागि चामल कुट्नुपर्ने अवस्था नरहेको फूलराम चौधरीले बताउनुभयो । मिलमै पिसिएको चामलको पिठोबाट थारू समुदायले माघी पर्वका लागि मौलिक परिकार ढिक्री बनाउने गर्दछन् । ढिक्री देवीदेउतालाई पुज्ने कार्यसँगै पाहुनालाई सुँगुरको मासु, माछासँग खान दिइने गरिन्छ । सुँगुर खोज्ने र मार्ने कार्य माघी पर्व आउन एक दिनअगावै गरिन्छ ।

त्यसलाई ‘जिता मर्ना दिन’ भन्ने गरिन्छ । यस दिन गाउँ टोलका सबै जना मिलेर सुँगुर काट्ने कार्य पुस्तौँदेखि चल्दै आएको शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार माघी पर्व सुरु हुनु एक दिनअगावै गाउँका थारू समुदायले सामूहिकरूपमै सँुगुर, बाख्रा, कुखुरा काटेर खाने गरिए पनि माघ महिना सुरु भएपछि कुनै पनि जनावरको वध गर्न भने बर्जित रहेको छ ।

उहाँका अनुसार माघको पहिलो दिन बिहानै नदी तलाउमा नुहाएर घरका ठूलावडाको आशीर्वाद लिने कार्य गरिन्छ । “गाउँ नजिकको नदी, तलाउ, कुवामा गई सूर्य नउदाउँदै फूल चामल पैसा हातमा लिई नुहाइ ढुङ्गालाई महादेव मानी जल, फूल र दक्षिणा मिसाइ भगवान् महादेवको दर्शन गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “नदी, तलाउमा नुहाएर र महादेवको दर्शन गरे वर्षभर गरेका पापकर्म हराएर जाने जनविश्वास छ ।” नुहाउने क्षेत्रमा सरसफाइ गर्नमा जुटेको उहाँले बताउनुभयो ।

नुहाएर घर फर्केपछि दिदीबहिनी, फुपू, भान्जाभान्जीका लागि पाँचदेखि सात अञ्जुली चामल, नुन, खुर्सानी छुट्याइ यस अवसरमा निसराउ दिने चलन छ । त्यसपछि गाउँका मान्यजनबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद साटासाट गरिसकेपछि मान्यजनसँग बसेर विशेष प्रकारले बनेको चामलको पिठोको ढिक्री, बङ्गुरको मासु, अन्दी चामलको झोल र विविध प्रकारको परिकार खाने गरिएको छ ।

वडघरियाको घरबाट सुरु गर्दै मघौटा छोक्रा नाच गाउँका सबैको घर–घर माग्दै नाच्दै मनोरञ्जन लिइने गरिन्छ । मघौटा नाचमा नाच्नेले उतानो परी आखाँको परेला र मुखबाट पैसा उठाउने कला देखाउने गर्दछन् । रोमाञ्चले भरिएको नाच हेर्नेको उत्सुकता यसबेला बेग्लै प्रकारको हुने गरेको छ । यस्ता नाच भने हाल हराउँदै गएका छन् ।

माघको दोस्रो दिन गाउँका सम्पूर्ण व्यक्तिहरूको जमातबाट वर्षभरिमा गरिने विकास निर्माण, विवाह, अंशवण्डा, सामाजिककार्यको योजना बनाइने गरिन्छ । विगतका वर्षहरूको योजनाको समीक्षा गरिन्छ । यसै दिन गाउँको योजना कार्यान्वयनको नेतृत्व लिने वडघरियाको छनोट गरिन्छ ।

गाउँमा आउने रोगब्याधी, दैवीप्रकोप हटाउनका लागि धार्मिक मान्यताअनुरुप गुरुबा, गाउँमा खबर आदान–प्रदानको व्यवस्था गर्न चौकीदारको छनोट गरिँदै आएको छ । नयाँ कामको सुरुआत हुने, चराले बोली परिवर्तन गर्ने, रुखमा नयाँ पालुवा पलाउने भएकाले थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मान्ने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।