‘क्रुजसिप’ मा सरर

चितवन, ४ माघ (रासस)ः नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको छ ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले विगत तीन दिनदेखि नियमितरूपमा सञ्चालन गरिँदै आएको बताउनुभयो । दैनिक तीनपटक सञ्चालन गरिँदै आएको छ । दैनिक एक सय जनाभन्दा बढीले क्रुजमा मनोरञ्जन लिएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ, पोखरालगायतका जिल्लाबाट समेत क्रुज सयरका लागि आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सुरुआती चरणमा उत्साहजनक उपस्थिति छ ।” स्थानीयवासीसहित बाहिरी जिल्लाबाट समेत पर्यटक आएको उहाँ बताउनुहुन्छ । क्रमशः ५०–६० जना भएसँगै क्रुज सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।

केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारी र कानुनी समस्याका कारण क्रुज सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । क्रुजको दुई वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो । एक घण्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको उहाँले बताउनुभयो । यसका लागि रु सात सयको टिकट काट्ने गरिएको छ । यसमा एक कप कफी दिइँदै आएको छ ।

यसका अलावा विभिन्न प्याकेज पनि तयार पारेको उहाँले बताउनुभयो । ब्रेकफास्ट क्रुजिङका लागि रु एक हजार पाँच सय, लञ्च क्रुजिङका लागि रु दुई हजार, डिनर क्रुजिङका लागि रु दुई हजार पाँच सय शुल्क तोकिएको छ । केही दिनभित्रै सुरुमा डिनरबाट प्याकेज सञ्चालन गर्ने तयारी गरिएको छ । यो समयमा बिहानमा कुहिरोका कारण सञ्चालन कठिन हुने भएकाले लञ्च र डिनर गर्न सकिने उहाँको भनाइ छ ।

क्रुजसिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन् । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेशन रहेको छ । तीन तलाको क्रुजमा दुई सय जना यात्रु एकैसाथ चढ्न मिल्छ ।

कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार यो क्रुजसिप निर्माणमा रु १५ करोडभन्दा बढी खर्च भएको छ । क्रुजमा सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ । क्रुजमा यात्रा गर्ने हरेक यात्रुको रु १० लाख बराबरको बीमा गरिएको छ । क्रुजसिपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायतका गतिविधि गर्न पाइने उहाँले जानकारी दिनुभयो ।

नारायणी नदीको ४० किलोमिटरमा सञ्चालनका अनुमति लिएको निर्देशक कँडेलको भनाइ छ । यतिबेला पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्र चलाइने छ । पानीको बहावअनुसार दूरी बढाउँदै लैजाने उहाँले बताउनुभयो । नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुजसिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन् । यसको चालक दलमा १५ जना रहने छन् ।

क्रुजसिप सञ्चालनसँगै यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यवसायीले गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई एक दिनको बसाइ लम्ब्याउन र मनोरञ्जन दिन क्रुज उपयोगी हुनसक्ने व्यवसायीको भनाइ छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।