प्रमुख सौन्दर्यका रुपमा रहेको च्याङ्ग्रे पोखरी संरक्षण गरिँदै

भोजपुर, ५ माघ (रासस) ः पौवादुङमा गाउँपालिका केन्द्रको प्रमुख सौन्दर्यका रुपमा रहेको च्याङ्ग्रे पोखरीको संरक्षण भइरहेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर आर्थिक स्रोतसँग जोड्न रु दुई करोड बढी लागतमा निर्माण थालेको हो ।

सिङ्गो गाउँपालिकाको आकर्षण केन्द्रका रुपमा रहेको यो पोखरीलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य मान्न सकिन्छ । पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर थप विकास गरिरहेको छ । पोखरीको मौलिकतालाई यथावत् राख्दै आधुनिक प्रविधिको प्रयोग गरेर विकासको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

क्रमागत योजनाअनुसार नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पोखरीको थप विस्तार तथा संरक्षणको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

सम्झौताअनुसार विसं २०८० को चैतसम्म पूर्णरुपमा सम्पन्न गर्नेगरी रु दुई करोड १९ लाख ९९ हजार दुई सय २४ मा काम भइरहेको उहाँले बताउनुभयो । यो काम थालनी भएको दोस्रो वर्ष हो । हालसम्म ४० प्रतिशत काम सकिएको छ । यो पोखरी पर्यटकीय सम्भावना बोकेको गन्तव्य भए पनि ओझेलमा परेको छ । पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्ने आन्तरिक पर्यटक पुग्ने गरे पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् ।

परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामकरण गरिएको स्थानीयको कथन छ । पोखरी बनेदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा नसुक्ने स्थानीय बासिन्दा सुनाउँछन् । स्थानीय चन्द्रबहादुर खत्रीले भन्नुभयो, “एउटा धार्मिक महत्वको प्रसिद्ध पोखरी हो, तर प्रचार नहुँदा छायाँमा परेको छ, गाउँपालिकाले यसको विकासका लागि काम थालनी गरेको छ, यो कामप्रति हामी खुसी छौँ ।”

यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रे बजारसमेत लाग्ने गरेको छ । अहिले यो बजार गाउँपालिकाको मुख्य बजारका रुपमा विस्तार भएको छ । च्याङ्ग्रे घुम्न आउने जो कोहीको गन्तव्य नै यो पोखरी हो । विश्राम गर्ने, घुम्ने, डुल्ने, तस्वीर लिने, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक यहाँ पुग्छन् ।

विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुन्छ । ऐतिहासिक र धार्मिक महत्वको पोखरीको पर्यटन प्रवद्र्धन गर्नसके पर्यटन व्यवसायबाटै आर्थिक टेवा पुग्ने स्थानीयको भनाइ छ । स्थानीय लीला सुनारले भन्नुभयो, “यो महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र हो, यहाँ विभिन्न समयमा मेला लाग्छ, मानिसको आवतजावतमा वृद्धि हुँदा व्यापार व्यवसायमा समेत टेवा पुग्छ ।” पोखरीको बिहान, दिउँसो र साँझ फरकफरक रङ देख्न सकिने स्थानीयको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “मन्त्रालयसँगको लागत साझेदारीमा पोखरी संरक्षणको काम भइरहेको छ, हालसम्म ४० प्रतिशत काम सकिएको छ, पोखरीको संरक्षणको काम तीव्र गतिमा गरिरहेका छौँ, २०८० सम्ममा सक्ने सम्झौता छ ।”

पोखरीलाई विशेष आकर्षण दिएर पर्यटकको आवागमन बढाउनका लागि संरक्षणको काम थालिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईको भनाइ छ । “यसको विकास तथा प्रचारमा गाउँपालिका लागिपरेको छ, उपाध्यक्ष राईले भन्नुभयो, “बृहत्तर विकासका लागि डिपिआरअनुसारको काम गर्छौं, यसलाई जिल्लाको एक आकर्षण केन्द्रका रुपमा स्थापित गर्ने लक्ष्य छ ।”

पोखरीको संरक्षणका लागि ठूलो प्रयासपछि केन्द्र सरकारबाट बजेट विनियोजन गरेर काम गर्न सफल भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । अहिले पोखरीलाई पर्खालले घेर्ने, वरिपरि पाँच मिटरको बगैँचा निर्माण गर्ने, बालबालिकाका लागि पार्क बनाउने, बीचमा पानीको फोहोरा(माउटेण्ड फल्स) राख्ने र बोटिङ गर्नसक्ने गरी संरचना बन्ने अध्यक्ष राईले जानकारी दिनुभयो ।

गाउँपालिकाको अर्को पर्यटकीयस्थल अरुण डाँडाको विकासका लागि पनि काम भइरहेको गाउँपालिकाले जनाएको छ । यस्ता क्षेत्रको विकास तथा प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढाउने लक्ष्य लिइएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।