बाँझो जग्गामा ओखर खेती

गलकोट, ११ चैत (रासस) : बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवद्र्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ । नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ ।

गण्डकीमा उक्त कोषमार्फत गलकोटसहित तीन पालिकामा यो कार्यक्रम लागू भएको छ । जनताको आर्थिक विकासमा टेवा पु¥याउने र बाँझो जग्गालाई सदुपयोग गर्ने नीतिका साथ सङ्घीय सरकार र गलकोट नगरपालिकाको साझेदारीमा ओखर खेती थालिएको हो । चालु आर्थिक वर्षमा रु दुई करोड २० लाखको लागतमा छ सय २५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाउने योजनाअनुसार काम भइरहेकोे नगरप्रमुख भरत शर्मा गेरैले जानकारी दिनुभयो । “यो हाम्रो नयाँ कार्यक्रम हो, ओखर खेतीमा चालु आर्थिक वर्षमा रु दुई करोड र चार आर्थिक वर्षमा रु दुई करोड गरी चार करोड खर्च हुनेछ, यहाँका किसान उत्साहित भएका छन्, दुदीलाभाटी, डाँडाखेत र रमुवामा खेती लगाउने काम अन्तिम चरणमा पुगेको छ”, नगर प्रमुख गैरेले भन्नुभयो, मापदण्डअनुसारको खाल्टो तयार र आवश्यक सिँचाइको सुविधा भइसकेको र बिरुवासमेत टर्कीबाट आयात गरेर वितरण भइरहेको छ, बाँझो जग्गा सदुपयोग मात्रै हैन त्यहाँका किसानले महँगो मूल्यमा ओखर बिक्री गर्ने लक्ष्य राख्नुभएको छ ।”

यस वर्ष रु दुई करोड २० लाख लागतमा खाडल तयार, बिरुवा खरिद र सिँचाइ सुविधाका लागि पूर्वाधार निर्माण हुनेछ भने चार आर्थिक वर्षमा पुनः रु दुई लाख खर्च गरी ओखर उत्पादनको चरणमा पुगेपछि स्थानीयलाई नगरपालिकाले हस्तान्तरण गरिने गलकोट नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।

नगरपालिकाले प्रविधिमा आधारित नयाँ खेती गर्न अध्ययन गर्दा बाँझो जग्गा सदुपयोगसमेत हुने गरी ओखर खेतीका लागि गरिएको प्रस्ताव स्वीकृत भएर अहिले कार्यान्वयनमा ल्याइएको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख सङ्घीय सरकार, गलकोट नगरपालिकाको रु ६० लाख र किसानको रु २० लाख सहकार्य हुने सुवेदीले बताउनुभयो ।

नगरपालिकाको एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइको जग्गामा १० हजार बिरुवा लगाइनेछ । अहिले १० हजार खाल्टो तयारी भएर मलसमेत राखिसकिएको छ ।

दुदिलाभाटीको पात्लेखर्क, डाँडाखेतदेखि निलुवा, पाण्डवखानीको रमुवामा छ सय २५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा लगाइनेछ । “छ सय २५ रोपनी जग्गामध्ये पाँच सय रोपनी जग्गा बाँझो रहेको अध्ययनको क्रममा पाइएको छ, बाँझो जग्गा सदुपयोग हुने र किसानको आर्थिक विकासका लागि ओखर खेती हुने सम्भावना देखिएपछि अहिले धमाधम काम भइरहेको छ”, कृषि शाखा प्रमुख सुवेदीले भन्नुभयो, “वडामै कृषक समूह गठन गरेर काम भइरहेको छ, त्यहाँका किसान उत्साहित बनेर काम गरिराख्नुभएको छ, बिरुवा टर्कीबाट ल्याएर लगाउने काम धमाधम भइरहेको छ, एक महिनाभित्रै बिरुवा लगाउनेछौँ ।”

सुवेदीका अनुसार लगाइएको बिरुवाको हेरचाह, प्रविधिक सहयोग र सिँचाइ सुविधाका लागि नगरपालिकाले लगातार चार वर्षसम्म रु दुई करोड २० लाख नै खर्च गर्नेछ । वडा नम्बर १ दुदीलाभाटीमा चार हजार चार सय बिरुवा, वडा नम्बर ४ मा दुई हजार छ सय र वडा नम्बर १० तीन हजार ओखरका बिरुवा लगाइने छ । जिल्लामा पहिलो पटक गलकोटमा ओखर खेती गर्न थालिएको हो ।

सिँचाइको समेत काम भइरहेको छ जसका लागि प्लाष्टिक पोखरी निर्माण र पाइप जडान भइसकेको छ । झाडी र बुट्यान भएको बाँझो जग्गामा किसानले ओखर खेतीका लागि छ महिनाअघिदेखि तयारी थालेका थिए ।

ओखर खेतीले पाँच वर्षपछि फल दिन थाल्ने र कार्यविधि बनाएर किसानलाई उक्त ओखर खेती हस्तान्तरण गरिनेछ । ओखर खेतीले नौ वर्षमा लगानी उठाउन सक्ने गरी अध्ययन भएको थियो ।

किसानले बाँझो जग्गा तयार गरेपछि नगरपालिकाको लगानीमा बिरुवा वितरण भएर अहिले लगाउने काम भइरहेको दुदिलाभाटी व्यावसायिक ओखर समूहका अध्यक्ष मीनबहादुर मगरले जानकारी दिनुभयो । “यहाँ धेरै जग्गा बाँझो छ किसानलाई समूहमा आबद्ध बनाएर बाँझो जग्गाको सदुपयोग गर्नसमेत ओखर खेती प्रभावकारी भइरहेको छ”, मगरले भन्नुभयो ।—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।