मेस्सीले चुम्बन गरेको तस्बिर बन्यो वर्षकै ‘बेस्ट फोटो’
एजेन्सी । अर्जेन्टिनाका विश्वकप विजेता लियोनल मेस्सीले विश्वकपको उपाधि चुम्बन गर्दै गरेको तस्बिर वर्षकै उत्कृष्ट तस्बिर घोषणा भएको छ । गत वर्ष कतारमा अर्जेन्टिनाले विश्वकप जित्दा मेस्सीले उपाधिलाई पहिलोपटक छुँदा चुम्बन गरेका थिए । निकै सुन्दर देखिने सोही तस्बिरलाई वर्ष २०२२ का लागि खेलकुद जगतको सर्वोत्कृष्ट तस्बिर घोषणा गरिएको हो । तस्बिर २०२२ को भए पनि अवार्ड भने २०२३ मा प्रदान गरिएको हो ।
गत वर्ष कतारमा अर्जेन्टिनाले साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेर ३६ वर्षपछि विश्वकप जितेको थियो । अर्जेन्टिनाले विश्वकप जित्दा मेस्सीको योगदान निर्णायक थियो । मेस्सी आफैं प्रतियोगिताको बेस्ट प्लेयर समेत बनेका थिए । उनले ७ गोल र ४ गोलमा असिस्ट गरेर टिमलाई विश्व च्याम्पियन बन्न सघाएका थिए ।
विश्वकप जितेपछि फिफा अध्यक्षले विजेता टिमका कप्तानलाई आधिकारिक ट्रफी प्रदान गर्नुअघि राखिएको मेडल ग्रहण गरेर अघि बढ्ने क्रममा मेस्सीले विश्वकपको उपाधिलाई सुमसुम्याएर चुम्बन गरेका थिए । हातमा बेस्ट प्लेयरको अवार्ड च्यापेर एक हातले विश्वकपको उपाधि चुम्बन गर्दै गरेको मेस्सीको सोही तस्बिरले ‘वर्ल्ड स्पोर्ट्स फोटोग्राफी अवार्ड’ जितेको हो । सो तस्बिर चर्चित फोटोग्राफर ओरिहेउलालो खिचेका थिए ।


