अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित

ढोरपाटन, २२ साउन (रासस) ः बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैँचीले फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैँची खेती गरे पनि व्यावसायिकरुपमा भने गरिएको थिएन । गाउँपालिकाले पूर्वी नेपालबाट बिरुवा लिएर अनुदानमा दिएपछि कृषक व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका हुन् ।

असार महिनादेखि अलैँची फूल्न थालेपछि बोट सुक्न थालेको हो । अहिलेसम्म सयौँ बोट सुकेर नष्ट भएका छन् । अपरिचित रोगबाट अलैँची मर्न थालेपछि कृषक सशङ्कित बनेका छन् । अघिल्लो वर्ष केही बोट सुक्ने समस्या देखिए पनि धेरै समस्या नआएको स्थानीय कुलबहादुर घर्तीमगरले जानकारी दिनुभयो । आफूले दुई रोपनी क्षेत्रफलमा स्थानीय जात र नौ रोपनीमा भार्लाङ जातको गरी ११ रोपनी क्षेत्रफलमा अलैँची लगाएको बताउनुभयो । त्यसमध्ये हालसम्म २० प्रतिशत बोट सुकेर नष्ट भएको उहाँले बताउनुभयो ।

ताराखोला –२ अर्गल गाउँका खोला किनारमा धेरै किसानले अलैँची लगाएको जनाउँदै सबैको अलैँचीको बोट सुक्दै गएको स्थानीय घर्तीमगरले बताउनुभयो । गाउँमा अलैँची राम्रो हुने सम्भावना देखेपछि आफूले रु चार लाखमा जग्गा खरिद गरी बिरुवा लिएर लगाएको जनाउँदै अहिले समस्या आएपछि लाखौँको नोक्सान हुन थालेको उहाँको भनाइ छ । अलैँचीमा समस्या देखिएपछि गाउँपालिकाको कृषि प्राविधिकलाई जानकारी गराएको घर्तीमगरले बताउनुभयो ।

“गाउँमा पहिले स्थानीय जातको अलैँची लगाएको थिएँ, त्यो निकै राम्रो भएको थियो, फल पनि राम्रो दिएको थियो, त्यही देखेर उन्नत जातको बीउ पूर्वबाट लिएर लगाइयो, केही समय राम्रो भएको थियो, अहिले समस्या आयो”, स्थानीय घर्तीमगरले भन्नुभयो, “एघार रोपनीमध्ये दुई रोपनीमा स्थानीय जातको र नौ रोपनीमा बाहिरबाट ल्याएर लगाए, पोहोर सालनै केही बोट मरेका थिए, अहिले धेरैमा यो समस्या देखियो, गाउँमा अरु किसानले लगाएको अलैँचीमा पनि यही समस्या छ, के भएर मरे ?, अब कसरी अरु बिरुवा बचाउने भन्ने चिन्ता छ ।”

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले ढुसीजन्य रोगका कारण अलैँचीका बोट मर्न थालेको बताउनुभयो । उहाँले ताराखोला मात्रै नभएर अलैँची खेती हुने जिल्लाको काठेखोला र बरेङमा पनि यो समस्या आएको बताउनुभयो । सुक्खाको कारणले अलैँचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने भट्टराईको भनाइ छ । यो रोगका कारण जिल्लामा पछिल्लो केही वर्षयता उत्पादनमा कमी आउन थालेको उहाँ बताउनुहुन्छ ।

“किसानले अलैँची बगैँचा बनाउँदा सुक्खा ठाउँ चयन गर्नु हुँदैन, जहाँ चिस्यान छ, पानीको पर्याप्त उपलब्धता छ, त्यहाँ मात्रै यसको खेती गर्नुपर्ने हुन्छ, ताराखोलामा अहिले यो समस्या आयो, काठेखोला र बरेङमा पहिलेदेखि नै समस्या थियो”, प्रमुख भट्टराईले भन्नुभयो, “सुक्खाको कारण समस्या भएको हो, अब किसानले नियमित सिँचाइको व्यवस्था मिलाउनुपर्छ, सिँचाइको व्यवस्थापन भयो भने समस्या समाधान हुन्छ ।”

कृषि ज्ञान केन्द्र प्रमुख प्रमुख भट्टराईका अनुसार बागलुङमा एक सय हेक्टर जमिनमा खेती हुने गरेको छ । जिल्लामा हरेक वर्ष ३८ मेट्रिक टन उत्पादन हुने र किसानले राम्रो मूल्य पाएको उहाँको भनाइ छ । अलैँची खेती गर्नुपूर्व यससम्बन्धी सामान्य ज्ञान लिन जरुरी रहेको उहाँले सुझाव दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖