एमाले शर्तबन्दी गर्दैन : सुवास नेम्वाङ
काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमाले सधैं देश र जनताकाे हितकाे पक्षमा उभिने बताउनुभएकाे छ ।
२९औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले बिहीबार च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले एमालेले देश र जनताकाे हितविपरीत कसैसँग शर्तबन्दी नगर्ने प्रष्ट पार्नुभयाे ।
२०८४ काे चुनावमा पहिचानका पक्षधरलाई बहुमत दिए काेशी प्रदेशकाे नाम परिवर्तन गरिदिन्छु भन्ने पुष्पकमल दाहाल प्रचण्डकाे अभिव्यक्तिप्रति लक्षित गर्दै उहाँले त्यसाे भन्नुभएकाे हाे । ‘काेशी प्रदेशकाे सन्दर्भलाई लिएर एक जना मित्रले भन्नुभयाे – ‘अर्काेपटक ०८४ मा हामीलाई भाेट हालेर जिताउनुभयाे भने म याे काेशी प्रदेशकाे नामै फेरिदिन्छु भन्नुभयाे, उहाँकाे अनुहार झलझली याद छ नाम मैले बिर्सिएँ, हामी त्यसरी शर्तबन्दी गर्दैनाैं, एमाले शर्तबन्दी गर्दैन, एमाले याे देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताकाे हीतमा सधैँभरी दृढतापूर्वक उभिएकाे छ, उभिन्छ, यसले आफ्नाे व्यवहार, कामकारबाहीबाट स्थापित गरेकाे छ’- उपाध्यक्ष नेम्वाङले भन्नुभयाे ।
एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आइएलओ महासन्धि पनि आफूहरुकै नेतृत्वमा नेपालमा अनुमोदन भएको उहाँले स्मरण गराउनुभयाे ।
आफूहरुकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै उहाँले एमाले आदिवासी जनताको पक्षमा रहेकाे बताउनुभयाे । सबै जनतालाई एकताबद्ध बनाएर अघि बढाउने भूमिका एमालेले मात्रै खेल्न सक्ने र खेल्दै आएकाे उहाँले बताउनुभयाे ।


