भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा

भोजपुर, ३० साउनः भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार–प्रसारको कमीले ओझेलमा परेको हो ।

यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी शिवकुमार विष्टले बताउनुभयो । सुन्दर स्थलमा रहेको यो देवस्थल प्रसार–प्रसारको कमीले ओझेलमा परेको उहाँको भनाइ छ । यसको महत्वलाई देश–विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।

यो स्थानमा तिज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी तथा विभिन्न अवसरमा मेला लाग्ने गरेको छ । “यो शिवपञ्चायन मन्दिर प्रचारको कमीले ओझेलमा परेको छ”, उहाँले भन्नुभयो, “प्रसिद्ध टेम्केडाँडाको काखमा रहेको यो स्थान ओझेलमा पर्नु दुःखको कुरो हो । हामी अहिले स्थानीयस्तरबाट प्रचार–प्रसारमा जुटेका छौँ । राम्रो प्रचार गर्न सके यसले यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।”

चिताएको पुग्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ आउने गरेको स्थानीयवासी गोरखबहादुर विष्टले बताउनुभयो । मन्दिर स्थापनासँगै संरक्षणको काम गरेपछि यहाँ आउने मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएको उहाँको भनाइ छ । प्राकृतिकरूपमा निकै सुन्दर मानिने यो ठाउँको विकासमा मन्दिर स्थापनाले टेवा पुगेको स्थानीयवासीको भनाइ छ ।

मन्दिरमा शिव, गणेश, सूर्य, विष्णु, देवीको गरी पञ्चायन भगवान्को मूर्ति छन् । धार्मिक पर्यटन तथा धार्मिक सहिष्णुता बढ्ने स्थानीयले बताएका छन् । “हाम्रो यो ठाउँमा धार्मिक पर्यटन प्रवर्द्धनको उद्देश्यले शिवपञ्चायन मन्दिरको स्थापना गरेका छौँ”, स्थानीय शिक्षक नुरी शेर्पाले भन्नुभयो, “यहाँ हामी सबै जातजातिको बसोबास छ । हाम्रो शेर्पा समुदायको बाहुल्यता रहेको ठाउँमा गुम्बा निर्माण गरेका छौँ । यसले हामीबीचको धार्मिक सहिष्णुतालाई अझ बलियो बनाएको छ ।”

मन्दिर निर्माण तथा आवश्यक संरक्षणका लागि स्थानीय देवबहादुर विष्टले निःशुल्क जग्गा दिनुभएको हो । “यो ठाउँमा मन्दिर निर्माणसँगै आवश्यक संरचना निर्माणका लागि मैले जग्गादान गरेको छु” उहाँले भन्नुभयो, “यसले यहाँको संरक्षण तथा विकासमा टेवा पुगेको छ । मन्दिर निर्माणसँगै धार्मिक पर्यटकको आवागमन बढ्छ भन्ने मैले विश्वास लिएको छु ।”

गाउँपालिका र वडा कार्यालयको रु तीन लाख लागत र स्थानीयले श्रमदान गरेर यहाँ मन्दिर निर्माणसँगै आवश्यक संरक्षणको काम गरेका हुन् । गाउँपालिकाभित्रका धार्मिक तथा ऐतिहासिक क्षेत्रको पहिचान गरेर विकासका लागि काम गर्ने गाउँपालिकाले जनाएको छ । यो ठाउँको शिरमा प्रसिद्ध धार्मिकस्थल टेम्केडाँडा रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने टेम्केमैयुङ–५ का वडाध्यक्ष सुनिल राईले बताउनुभयो । मन्दिर निर्माण तथा संरक्षणले आन्तरिक तथा बाह्य पर्यकटसमेत वृद्धि हुने वडाध्यक्ष राईको भनाइ छ ।

“यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा काम गरिरहेका छौँ”, वडाध्यक्ष राईले भन्नुभयो, “धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर यहाँको आर्थिक पक्षमा जोड्ने हाम्रो लक्ष्य छ ।” धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।