सामाजिक सञ्जाल व्यवस्थापनको आधार स्वनियमन र सचेतना : मन्त्री शर्मा

ललितपुर, ७ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापनका लागि स्वनियमन र सचेतनालाई आधार बनाउने बताउनुभएको छ ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग)द्वारा आयोजित ‘डिजिटल हिंसालाई सम्बोधन गर्ने कानुन निर्माणः चुनौती र समाधान’ विषयक अन्तरक्रियाका अवसरमा मन्त्री शर्माले मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने गरी कानुन निर्माण गरिरहेको जानकारी दिनुभयो । यसका लागि महत्वपूर्ण आधार स्वनियमन र सचेतनालाई मानिएको उहाँको भनाइ छ ।

“सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यदल बनाएर यो काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा पनि स्वनियमन र सचेतनामै जोड दिनु उपयुक्त देखिएको छ ।”

प्रयोगकर्ता र सामाजिक सञ्जाल सञ्चालन गर्ने माध्यमले स्वनियमन गर्ने, त्यसका लागि व्यापक साइबर सचेतना जागृत गर्ने र त्यति गर्दा पनि सामाजिक सञ्जालबाट समाजका विभिन्न तप्काले हिंसा महसुस गर्ने सामग्री प्रकाशन प्रसारण भएमा कानुनी कारबाहीको बाटोमा जाने विधि नै उपयुक्त हुने उहाँले स्पष्ट पार्नुभयो ।

“सामाजिक सञ्जालमा के गर्न हुन्छ र के गर्न हुँदैन, के गर्दा कुन कानुनअनुसार के सजाय हुन्छ भन्ने विषय धेरैलाई थाहा नभएको देखियो”, उहाँले भन्नुुभयो, “कसैले जानीजानी अपराध गर्छ भने ऊ सजायको भागिदार हुनैपर्छ तर थाहा नभएर गल्ती गर्ने अवस्था आउन नदिन स्वनियमन र सचेतनामै जोड दिनुपर्छ भन्ने लागेको छ ।”

साइबर सुरक्षा र साइबर शिक्षा प्राथमिकताको क्षेत्र भएको उल्लेख गर्दै सरकारी, गैरसरकारी, निजी क्षेत्र, सञ्चारमाध्यम सबैले यसमा ध्यान दिनुपर्ने मन्त्री शर्माले बताउनुभयो । उहाँले अभिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश नपारी नियमनका लागि कानुन बनाउने बताउनुभयो ।

“सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन ऐन नै आवश्यक भएको महसुस छ”, उहाँले भन्नुभयो, “तर, ऐन आजको आजै सम्भव छैन, त्यसैले ऐनको पनि तयारी गर्दै जाने र तत्कालका लागि निर्देशिका वा नियमवाली जारी गर्ने तयारी भएको छ, सम्भवतः यो महिनाभित्र हामीले यसको तयारी पूरा गर्छौं ।”

अन्तरक्रियामा सहभागीले बढ्दो साइबर अपराधको चुनौती र यसका समाधानका लागि कानुनको आवश्यकताबारे चर्चा गर्नुभयो । अन्तरक्रियाका क्रममा म्यागका निर्देशक एवं पत्रकार बबिता बस्नेतले सामाजिक सञ्जालमा उपल्लो वर्गका व्यक्तिबाटै धेरै साइबर अपराध हुने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “साइबर अपराधका घटना हेर्दा धेरै सङ्ख्याका पीडित र पीडक दुवै शिक्षित वर्गका छन् ।”

सूचना विज्ञ एवं पूर्वडिआइजी डा राजीव सुब्बाले साइबर अपराधको दायरालाई देशको कानुनले समेट्न सक्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । “साइबर अपराधका पीडितमध्ये निकै कमले प्रहरीमा उजुरी दर्ता गर्छन् । त्यसमा पनि कानुनको अभावमा अदालतसम्म मुद्दा दायर गर्ने नगन्य छन्”, उहाँले भन्नुभयो ।

कलाकार करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत गाली बेइज्जती र झुठो अभियोजनका कारण आफूले भोग्नु परेको समस्याबारे अनुभव सुनाउँदै सामाजिक सञ्जालको नियमनका लागि तत्काल कानुन निर्माण आवश्यक रहेको बताउनुभयो ।

यौनिक तथा अल्पसङ्ख्यक सामाजिक अभियन्ता भूमिका श्रेष्ठले आफ्नो समुदायका व्यक्तिले सामाजिक सञ्जालमार्फत भोग्न परेका समस्याबारे ध्यानाकर्षण गराउनुभयो । “सामाजिक सञ्जाल होस् वा त्यस बाहिरको दैनिकी, हाम्रा समुदायका व्यक्तिप्रति गर्न व्यवहार उस्तै छ । हाम्राबारे समाचार हुन वा सामाजिक सञ्जालमा सामान्य फोटो अपलोड गर्दासम्म कमेन्ट बक्सदेखि म्यासेज इनबक्ससम्म गाली बेइज्जती र यौन हिंसाका अभिव्यक्तिले भरिएका हुन्छन्”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।