राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १६ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)ले आजदेखि सुरु गरेको रुपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले हैरानी व्यहोर्नु नपरोस् भनेर सेवा प्रवाहमा सुधार थालिएको बताउनुभयो ।

“जनताले दैनिक भोग्दै आएका समस्या समाधान गर्न सरकारले कदम चालेको छ, राहदानी, सवारी चालक अनुमतिपत्र, विदेशमा दुःख पाउने परिस्थितिबाट नेपाली नागरिकलाई सहयोग गरिएको छ”, उहाँले भन्नुभयो । उहाँले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा योजना सञ्चालन गरिएको बताउनुभयो ।

“अहिले विदेशमा रहेका तीन लाख बढी श्रमिक यो योजनामा समावेश भएका छन्, यो छिट्टै २५ लाखको आसपास पुग्ने अवस्था छ”, उहाँले भन्नुभयो, “विदेशमा गएका मात्र होइन, अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न थालेका छौँ, यसले ५० लाख नेपाली कोषमा आबद्ध हुने ढोका खुलेको छ ।”

नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीको सेटिङ भत्काउने, मिटरब्याजबाट पीडित किसानलाई मुक्त गर्ने अभियानको थालनी भएको छ । “वर्तमान गठबन्धन सरकारसँग एकाथरि मान्छे अत्तालिएका छन्, यो अभियानले फेरि माओवादी २०६४ सालमा फर्कने भयो, शक्तिशाली पार्टी हुने भयो भन्ने आशङ्का छ”, उहाँले भन्नुभयो, “माओवादीलाई देश र जनताको पक्षमा काम गर्न नदिन ठूलो षड्यन्त्र भइरहेको छ, देश र राज्यलाई शुद्धीकरण गर्ने, बेथिति र फोहरलाई सफा गर्ने अभियान रोकिँदैन ।”

उहाँले आफूले सरकारको नेतृत्व गरिन्जेलसम्म देश र जनताको पक्षमा काम गरिरहने दृढता व्यक्त गर्नुभयो । “म जति दिन प्रधानमन्त्री रहन्छु राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु”, उहाँले भन्नुभयो ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कमीकमजोरी औँल्याउँदै जनताका बीचमा आएको उल्लेख गर्दै अब माओवादीले नै आफूलाई रुपान्तरण गर्नुपर्ने बताउनुभयो । “अभियानका क्रममा मात्र होइन, अब माओवादी जनताभन्दा टाढा बसेर दिन बिताउने छैन, जनताको साथमा, घरघरमा पुग्नेछौँ”, उहाँले भन्नुभयो, “प्राप्त उपलब्धिका बारेमा जनतालाई प्रशिक्षित गर्दै सुझाव लिनेछौँ ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।