खाली जग्गा सदुपयोग गरी कागती खेती

शङ्कर श्रेष्ठ/ मलेखु (धादिङ), २० भदौ : धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थाल्नुभएको हो ।

लम्साल भन्नुहुन्छ, “यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।” अहिले उहाँको साँझ–बिहान कागती खेतीमै बित्ने गरेको छ । विसं २०७६ मा कोरोना भाइरसको महामारीले देश ठप्प बन्यो । व्यापार–व्यवसाय सुनसान भए । कोरोनाले कोही कतै हिँड्डुल गर्ने अवस्था रहेन । त्यही फुर्सदको समय सदुपयोग गर्दै बाँझो बारीमा लगाएको कागतीले उत्पादन दिन थालेपछि लम्साल अहिले दङ्ग हुनुहुन्छ । तीन रोपनी बारीमा सुन कागतीको तीन सय बोट छ । एउटै बोटमा २० किलोसम्म कागती फलेको छ । उहाँ भन्नुहुन्छ, “लकडाउनले दिएको उपहार कागती अहिले अतिरिक्त आम्दानीको स्रोत बनेको छ ।”

बाह्रैमास फल्ने कागतीको कतै चिचिला लाग्दैछ कतै पाक्दैछ । दैनिक ४० किलो कागती बिक्री भइरहेको छ । धादिङबेँसीका कतिपय तरकारी व्यापारी कागती लिन बारीमै पुग्छन् । बारीमा पुग्न नसक्नेलाई मागअनुसार टिपेर पुर्याइदिने गरिरहेको लम्सालले बताउनुभयो ।

बर्खाले गर्दा मुख्य पेसा सुस्ताए पनि लकडाउनको समय सदुपयोग गरेर रोपेको कागतीले दैनिक चार हजारसम्म आम्दानी दिइरहेको छ । कृषि प्राविधिकसँगको परामर्शबाट कागतीको बिरुवा लगाउनुभएका लम्सालले मनग्य आम्दानी लिन थाल्नुभएको छ । लम्साल भन्नुहुन्छ, “थोरै बोट भए पनि उत्पादन राम्रै रहेको छ ।”

“झाडी बन्दै गएको जग्गालाई सदुपयोग गरी कागतीका बिरुवा तीन वर्षअघि मात्रै लगाएको थिएँ, अहिले कागतीका बोट हुर्कँदैछन्, पोहोरभन्दा यो वर्ष उत्पादन निकै बढेको छ, अर्को वर्ष व्यावसायिक उत्पादन हुनेमा विश्वस्त छु”, उहाँले भन्नुभयो, “सबै बिरुवाले पूर्णरूपमा उत्पादन दिन थालेमा धादिङबेँसीको बजारले उत्पादन थेग्न सक्दैन ।”

कोरोना महामारीकै बेला बिरुवा हुर्काउनुभएका नीलकण्ठ नगरपालिका–१० ज्यामरुङका ईश्वरी लम्सालको बारीमा पनि कागती लटरम्मै फलेको छ । परीक्षणको रूपमा लगाएको कागतीले दुई वर्ष अघिदेखि उत्पादन दिन थालेको हो । अघिल्लो वर्ष रु दुई लाखको कागती बिक्री भए पनि यो वर्ष रु चार लाख कमाउने उहाँको लक्ष्य छ ।

एक सय ५० बोट कागतीले तीन वर्षमै उत्पादन दिन सुरु गरेको छ । कागती खेतीको परीक्षण सफल भएपछि लम्सालले अहिले फेरि ६० बोट कागती थप्नुभएको छ । लकडाउनअघि ठेक्कापट्टाको काम गर्दै आउनुभएका लम्सालले कागती खेतीको सम्भावना र जग्गा व्यवस्थापनका विषयमा अध्ययन गरेर खेती गरिरहनुभएको छ । हालसम्म कागतीमा रु १० लाखबराबरको लगानी भएको लम्सालको भनाइ छ । दाना बिक्री नभएको बेला निचोरेर रस बनाई बेच्ने गर्नुभएको छ । रस निचोरेर बेच्दा लिटरको रु दुई हजारसम्ममा गाउँमै बिक्री हुने गरेको छ ।

सानो क्षेत्रबाट कागतीखेती थाले पनि अहिले ज्यामरुङका धेरै किसानले व्यावसायिक कागती खेती थालेका छन् । कागतीलाई बाँदरले पनि क्षति नगर्ने भएकाले धमाधम व्यावसायिक खेती थालिएको छ । यो वर्षमात्रै ज्यामरुङका चन्द्र लम्साल, रोहिणी लम्साल, हेमबहादुर ढकाल, बिएन ढकाल, दिनेशचन्द्र ढकालले गरी करिब दुई हजार बोट कागती लगाउनुभएको छ । अन्य बालीमा बाँदरले अत्यधिक क्षति गर्ने भएकाले पनि ईश्वरी लम्सालले गरेको कागती खेती देखेर आफूहरूले पनि सिकेको उहाँहरूको भनाइ छ ।

जिल्लामा पछिल्लो समय कागती खेतीलाई व्यावसायिक गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । कुनै समय सामान्य घरायसी प्रयोजनका लागि मात्र दुई–चार बोट बिरुवा रोप्ने प्रचलन भए पनि पछिल्लो समयमा कागती खेतीको व्यावसायिक खेती र उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिनुभयो ।

धुनिबेँसीमा करिब दुई सय जनाले कागती खेती गरेका छन् । थाक्रे, नेत्रावती र बेनिघाट रोराङमा पनि कागती खेतीलाई कृषकले व्यावसायिक खेतीका रूपमा अघि बढाउन थालेका छन् । बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत किसानले लिन थालेका छन् ।

कागती खेतीलाई सम्बन्धित निकायले चासो दिन सके मकै, कोदोलागायत बाँदरले हैरान पार्न थालेकाले कागतीको बिरुवा लगाउने कृषकको सङ्ख्या अझ बढ्ने कृषि प्रसार अधिकृत शर्माको बुझाइ छ । बजारमा कागतीको मूल्य प्रतिकिलो रु दुई सयभन्दा बढी रहेको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।