चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव

चितवन, २७ मङ्सिर : दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यक्षेत्र (फिल्ड)मा खटिने कर्मचारी अभाव हुँदा संरक्षणमा समस्या देखिएको छ । फिल्डमा खटिने जनशक्ति दरबन्दी भन्दा आधा कम छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार श्रेणीविहीन गेम स्काउट १०६ जनाको दरबन्दी भएकोमा जम्मा ४५ कार्यरत छन् ।

सिनियर गेम स्काउट द्वितीय श्रेणी ३४ जनाको दरबन्दी रहेकोमा १४ जना मात्र छन् । सिनियर गेम स्काउट चतुर्थ श्रेणी तीन जनाको दरबन्दी रहेकोमा सबै पद रिक्त छ । रेञ्जर १९ जनाको दरबन्दी रहेकोमा १६ जना कार्यरत छन् । उहाँका अनुसार संरक्षण अधिकृत, प्रमुख संरक्षण अधिकृतसँगै लेखा, प्रशासनका कर्मचारी भने दरबन्दी अनुसार छन् ।

हात्ती बोहकको दुई सय २८ जनाको दरबन्दीमा एक सय ३३ जना कार्यरत छन् । ९५ जनाको दरबन्दी रिक्त छ । ती सबै प्रत्यक्ष फिल्डमा खटिने कर्मचारी हुन ।हात्तीसार तर्फ स्वीकृत दरबन्दी एक सय ५५ जना रहेकोमा एक सय ४४ जना मात्र कार्यरत छन् । हात्ती तर्फ ११ जनाको दरबन्दी रिक्त छ । जुन जनशक्ति प्रत्यक्ष रुपमा फिल्डमा कार्यरत हुन्छ । निकुञ्जको कूल दरबन्दी तीन सय ८३ रहेको छ । यसमध्ये दुई सय ७७ जना कार्यरत रहेका छन् भने १०६ जनाको पद रिक्त रहेको तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “रिक्त रहेका कर्मचारी सबै फिल्डमा खटिने कर्मचारी हुन ।” यो निकुञ्ज नौ सय ५२ दशमलब ६३ वर्ग किलोमिटरमा फैलिएको छ । जसको ६२९ दशमलब ३७ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्र छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जमा आदेश दिने कर्मचारी रहेको तर कार्यक्षेत्रमा खटिने कर्मचारीको दरबन्दीको तुलनामा कम भएकाले काममा कठिनाइ आएको बताउनुभयो । हात्ती, गोही, निकुञ्ज सुरक्षा, मानव वन्यजन्तुद्वन्द्व व्यवस्थापन लगायतका काम प्रत्यक्ष रुपमा फिल्डमा खटिएर गर्नुपर्छ । यस्तै समस्या ग्रस्त वन्यजन्तुको उद्धार तथा व्यवस्थापन, नियमित गस्ती, पेट्रोलिङ्, स्थानीय सरोकारवालासँग समन्वय, मध्यवर्ती क्षेत्रमा जनचेतनामूलक कार्यक्रम, अध्ययन अनुसन्धान, वन्यजन्तुको बासस्थान तथा व्यवस्थापन जस्ता कार्य कर्मचारी अभावका कारण कठिनाइ भएको उहाँले बताउनुभयो । घडियाल गोही, पाटेबाघ, डल्फिन, एकसिङ्गे गैँडा, हात्ती जस्ता दुर्लभ वन्यजन्तु भएकाले निकुञ्जका सबै क्षेत्रमा पुगेर संरक्षणमा जुट्नुपर्ने हुन्छ ।

जनशक्ति कम हुँदा काममा समस्या परेको विषयमा माथिल्लो निकाय जानकारी भएको उहाँले जानकारी दिनुभयो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले मुख्य रुपमा गेम स्काउटको दरबन्दी अनुसार जनशक्ति नहुँदा समस्या भएको बताउनुभयो । यो जनशक्ति भर्ना भएपछि छोटो समयमा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा भएर जाने र थप जनशक्तिका लागि समय लाग्ने हुँदा समस्या आएको जानकारी दिनुभयो । गेम स्काउट पदमा रहेकाले खरिदारमा आन्तरिक प्रतिस्पर्धाबाट जानसक्ने भएकाले धेरै त्यस तर्फ जाँदा दरबन्दी रिक्त हुने र लोकसेवा आयोगले पदपूर्ति गर्न समय लाग्ने गरेको छ ।

उहाँले कार्यक्षेत्रमा खटिने जनशक्तिलाई अभाव हुन नदिन नीतिगत रुपमा सुधारका लागि माथिल्लो तहमा पहल भइरहेको बताउनुभयो । यो जनशक्ति अस्थायी रुपमा राख्नुपर्ने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो । अहिले गेम स्काउट पदमा रहने यहाँको आवश्यकता भन्दा दक्ष हुने भएकाले दिगो रुपमा नरहँदा समस्या भएको उहाँको भनाइ छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।