खतरामुक्त रहन दैनिक कति व्यायाम गर्ने, कति हिँड्ने?

एजेन्सी । घन्टौंसम्म एकै ठाउँ बसेर बिताउनेहरूले नजानिँदो किसिमले धेरै स्वास्थ्यजन्य समस्या उत्पन्न गरिरहेका हुन्छन्। एउटा उपयोगी अध्ययनले सक्रिय र निष्क्रिय दुवैथरी जीवनशैली अपनाएकाहरूको आनीबानीकै हिसाबले जीवन कति लामो वा छोटो भन्ने तय पनि गर्छ भनेर पत्ता लागेको छ।

यस्तोमा दैनिक कम्तीमा ११ मिनेट व्यायाम गर्ने वा ३५ मिनेट फटाफट हिँड्ने हो भने त्यस्ता समस्याबाट मुक्ति पाइने अध्ययनले देखाएको छ। अध्ययनमा दसौं हजार मानिसका विवरण संकलन गरी उनीहरूको दैनिकी विश्लेषण गरिएको थियो। त्यसमा असाध्यै कम हलचल गर्ने मानिसहरू युवावस्थामै मृत्युको शिकार हुने उच्च जोखिममा रहेको देखिएको थियो। तर त्यस्ता मानिस पनि जुरूक्क उठेर हिँड्न थाल्ने हो भने त्यस्तो खतरा पुनः घट्दै जाने देखिएको थियो। त्यसनिम्ति फेरि असाध्यै हिँडडुल गर्नुपर्ने पनि होइन।

आफ्नो सक्रियता घटाएर एकै ठाउँ बसेको बस्यै गर्दा शारीरिक गतिहिनता हुन्छ र यसले दीर्घकालीन स्वास्थ्य समस्या पैदा गर्नेछ भन्नेमा कुनै शंका छैन। थुप्रै विज्ञहरूले यसरी बसेको बस्यै गर्ने प्रवृत्ति र मृत्युको आपसी सम्बन्ध केलाएका छन्। अध्ययनहरूले सक्रियभन्दा सोफासेटमा बसेरै समय काट्ने मानिसहरू चाँडै मृत्युको मुखमा पुग्ने देखाएका छन्।

तर एउटा सक्रिय मानिस पनि खतराबाट मुक्त रहन कति हदसम्म सक्रिय हुनुपर्छ भन्ने चाहिँ अझै खुलिसकेको छैन। मानौं तपाईं दिनको आठ घन्टा कुर्सीमा बसेर कार्यालयको काम गर्नुहुन्छ। तपाईं बेलुकीपख आधा घन्टाजति हिँडडुल गर्ने हो भने त्यसले दिनभरमा कुल ३५ मिनेट हिँड्नैपर्ने आवश्यकता परिपूर्ति गरिदिन सक्छ। तर के त्यति मात्रले बाँकी समय बसेरै बिताउनेको शरीरलाई आवश्यक व्यायाम पूरा हुन्छ?

यसबारे पहिले नै गरिएका केही अध्ययनले ‘हुँदैन’ भनेको थियो। सन् २०१६ मा दस लाख मानिसमा एउटा यस्तै अध्ययन गरिएको थियो। त्यो अध्ययनमा महिला वा पुरूषले दिनमा करिब ६० देखि ७५ मिनेट मात्रै व्यायाम गर्दा बाँकी समय बसेको बस्यै हुँदाका समस्या मेटिने देखाएको थियो।

उक्त अध्ययन क्रममा मान्छेलाई उनीहरू कतिबेर बसे वा हिँडडुल गरे भनेर सोधिएको थियो। अध्ययनमा यो मात्र सोध्नुले समस्या निम्त्याउन सक्छ। किनकी आफ्नो जीवनको सक्रियता बढाइचढाइँ सुनाउनु र बसाइलाई धेरै प्राथमिकता नदिनु अधिकांश मान्छेको स्वभाव हुन्छ। अध्ययनमा समावेश भएकाहरूले भरपर्दो जबाफ नदिने सम्भावना धेरै हुन्छ।

यस्तो अवस्थामा उनीहरूमा व्यायामको प्रभाव सही आकलन हुँदैन। मानौं कोही आठ घन्टा बसिरहन्छ तर उसले म पाँच घन्टा बस्छु र तीन घन्टा हिँड्छु भनिदियो भने उसलाई थोरै व्यायाम गर्न भनिन्छ। जबकि हामीले बुझेसम्म उसलाई धेरै व्यायाम आवश्यक पर्छ।

यो अध्ययनमा भने सहभागीहरूले भनेकै कुरा विश्वास गरियो। बसेरै धेरै समय बिताउनेलाई पनि थोरै व्यायाम गर्न भनियो। अचम्म के भइदियो भने, थोरै व्यायामले पनि उसलाई फाइदा पुर्‍यायो।

ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा सार्वजनिक अध्ययनले विश्व स्वास्थ्य संगठनको शारीरिक सक्रियताका लागि परिमार्जित निर्देशिका र सन् २०१६ को अध्ययनसँग तालमेल मिल्ने गरी नतिजा प्रकाशित गरेको थियो।

सन् २०१६ मा यस्तो अध्ययन गर्दा पुरानै तथ्यांकमा बढी भर परिएको थियो। पछि भने बढीभन्दा बढी मानिससँग भेटेर उनीहरूको सक्रियता वा निष्क्रियताबारे सोधपुछ गरियो।

पछिल्लो समय नौवटा विभिन्न अध्ययनमा समावेश मानिससँग वैज्ञानिकहरूले सोधपुछ गरेका थिए। तीमध्ये ५० हजार महिला र पुरूषले आफ्ना हिँडडुलको मात्रा नाप्ने उपकरण प्रयोग गरेको पाइयो। हिजोआज यस्ता उपकरण मोबाइलमै पनि उपलब्ध छन्।

यी अध्ययनमा युरोप वा अमेरिकाका अधवैंसे वा बढी उमेरका मानिस समावेश थिए। ती नौवटै अध्ययनका तथ्यांक राखेर हेर्दा बढीजसो मानिस बसेरै झन्डै दस घन्टा बिताउने भेटिए। त्यस्तै धेरै मानिस विरलै हिँड्ने र एकाध मिनेट व्यायाम गर्नेहरू पाइए।

यसरी तथ्यांक संकलन गरिएको झन्डै एक दशकपछि अध्येताहरूले मृत्यु दर्ताको सूची हेरे। मान्छेको सक्रियताअनुसारै उनीहरूलाई तीन भागमा वर्गीकरण गरियो।

– एकदमै थोरै वा हिँड्दै नहिँड्ने

– दैनिक ११ मिनेट व्यायाम गर्ने तर धेरै समय बसेरै बिताउने

– थोरै बस्ने, धेरै सक्रिय हुने

अन्तिममा नतिजा सोचेजस्तै आयो।

जो असाध्यै थोरै हलचल गर्थे ती कम उमेरमै मृत्युको उच्च जोखिममा रहेछन्। बसेरै दिन काट्नेको उमेर नपुग्दै मृत्यु हुने सम्भावना थोरै बस्ने र धेरै सक्रिय हुनेको तुलनामा २६० प्रतिशत बढी देखियो। यो अध्ययन क्रममा स्वयंसेवीहरूलाई उनीहरूको उमेरमा असर पार्ने अन्य कारक, धूमपान र अत्यन्त धेरै तौलजस्ता कुरा नियन्त्रण गर्न लगाइएको थियो।

यसमा दैनिक ११ मिनेट व्यायाम गर्ने तर धेरै समय बसेरै बिताउनेहरूको भने रोचक नतिजा पाइयो। एकदमै थोरै वा हिँड्दै नहिँड्नेका तुलनामा यी वर्गका मानिसको चाँडै मृत्यु हुने संख्या नगन्य नै थियो।

यी सारा विवरणलाई निष्कर्षमा पुर्‍याउँदै अध्येताहरूले एउटा यस्तो विन्दु पहिल्याए, जसले शारीरिक गतिविधि र दीर्घायुबीच सम्बन्ध बुझ्न व्यायामको सजिलो मात्रा पेस गर्थ्यो — दिनको लगभग ३५ मिनेट फटाफट हिँड्ने वा करिब ११ मिनेट व्यायाम गर्ने।

बाँकी जतिसुकै समय मानिसले बसेर बिताए पनि यति व्यायाम गर्ने हो भने उसको आयु वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने देखियो।

यति हुँदाहुँदै यसैमा भर परेर व्यायाम गर्ने मानिस अल्पायुमा मर्दै मर्दैनन् भन्नु अर्को गल्ती हुनेछ। यी अध्ययनले साबित गरेको चाहिँ मानिसको शारीरिक गतिविधि, बसाइ र मृत्युको कारण आपसमा अन्तरसम्बन्धित छ भन्ने मात्रै हो।

दैनिक नछुटाइ ११ मिनेट व्यायाम वा आधा घन्टा फटाफट हिँड्ने समय शरीरलाई दिने हो भने अल्पायुमै निधन हुने सम्भावना कम हुने अध्ययनले देखाएको हो।

स्नायू वैज्ञानिकहरूका अनुसार हिँडाइले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ। हिँड्नु यति सजिलो व्यायाम हो, जसका लागि कुनै महँगो उपकरण चाहिँदैन। प्राकृतिक सुन्दरता भएको ठाउँमा हिँड्न पाए सुनमा सुगन्ध!

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖