गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

सञ्जय मिश्रा/ रौतहट, ११ असोज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा केही समयअघि देखिएको जस्तै घटना रौतहटमा पनि दोहोरिएको छ। स्वास्थ्यकर्मीको अभावमा गरुडा नगरपालिका–६ पोठियाहीस्थित बर्थिङ सेन्टरमा सुत्केरी गराउन पुगेकी एक महिलाले सेन्टरको बाहिरै बच्चा जन्माउनुपरेको छ।

आइतबार बिहान करिब साढे १० बजे स्थानीय आमिचन माझी मुसहरकी छोरीलाई सुत्केरी गराउन बर्थिङ सेन्टर पुर्‍याइएको थियो। तर त्यहाँ सुत्केरी गराउने स्वास्थ्यकर्मी उपलब्ध नभएको जानकारी पाएपछि महिलाकी सासु अटो रिक्सा खोज्न बाहिर निस्किएकी थिइन्।

त्यसैबीच सुत्केरी व्यथा बढेपछि ती महिलाले बर्थिङ सेन्टरको गेट बाहिरै बच्चा जन्माएकी हुन्। वडा नम्बर ६ का अध्यक्ष रामबाबु चौधरीका अनुसार बच्चा जन्मिएपछि सेन्टरका कर्मचारी रौशन जैसवाललाई घरबाट बोलाएर आमा र नवजात शिशुलाई सेन्टरभित्र लगिएको थियो।

वडा अध्यक्ष चौधरीका अनुसार उक्त बर्थिङ सेन्टरमा दरबन्दी रहेका तारा रामसहित दुई जना महिला स्वास्थ्यकर्मीलाई करिब ६ महिनाअघि अन्यत्र सरुवा गरिएको थियो। उनीहरूको सरुवापछि दक्ष जनशक्तिको अभावमा बर्थिङ सेन्टरको नियमित सेवा प्रभावित हुँदै आएको उनको भनाइ छ।

‘दक्ष स्वास्थ्यकर्मी हुँदा यही सेन्टरमा दैनिक तीन–चार जना महिलाले सुरक्षित रूपमा सुत्केरी सेवा लिने गरेका थिए। तर स्वास्थ्यकर्मी सरुवा भएपछि समस्या बढेको हो,’ चौधरीले बताए।

स्वास्थ्यकर्मीको सरुवा फिर्ता गरी बर्थिङ सेन्टरमै जनशक्ति व्यवस्थापन गर्न नगर प्रमुख कन्थमणि जैसवालसँग पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको वडा अध्यक्ष चौधरीको दाबी छ।

घटनापछि नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापनबारे पनि प्रश्न उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता रविन्द्र यादवले विशेषगरी विपन्न तथा दलित समुदायका महिलाले सेवा लिन आउने स्वास्थ्य संस्थामै आवश्यक जनशक्ति नहुनु गम्भीर विषय भएको बताएका छन्। यादवले घटनाबारे नगरपालिका पुगेर सोमबार नगर प्रमुख जैसवालसँग छलफल गर्ने बताएका छन्।

सेवा संरचना छ, जनशक्ति छैन

बर्थिङ सेन्टर स्थापना गर्नुको मुख्य उद्देश्य गर्भवती महिलालाई घरमै सुत्केरी हुनुपर्ने जोखिमबाट जोगाउँदै नजिकै सुरक्षित मातृत्व सेवा उपलब्ध गराउनु हो। तर सेवा दिने स्वास्थ्यकर्मी नै उपलब्ध नहुने अवस्था आएमा भौतिक संरचना मात्र पर्याप्त हुँदैन।

पोठियाहीको घटनाले स्थानीय तहअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थामा दरबन्दी, जनशक्ति व्यवस्थापन र स्वास्थ्य सेवाको नियमित उपस्थितिबीच समन्वय आवश्यक रहेको देखाएको छ। विशेषगरी प्रसूति सेवा आकस्मिक प्रकृतिको हुने भएकाले तोकिएको समयमा स्वास्थ्यकर्मी उपलब्ध नहुँदा सामान्य अवस्थाको गर्भवती पनि जोखिममा पर्न सक्छिन्।

स्थानीयका अनुसार करिब ६ महिनाअघिसम्म नियमित रूपमा सुत्केरी सेवा दिइँदै आएको उक्त केन्द्रमा स्वास्थ्यकर्मी सरुवापछि सेवा प्रभावित भएको हो। अब नगरपालिकाले घटनाको वास्तविक अवस्था छानबिन गरी आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्ने कि समस्या यथावत् राख्ने भन्ने विषय स्थानीयका लागि चासोको बनेको छ।

स्थानीयले बर्थिङ सेन्टरमा नियमित स्वास्थ्यकर्मीको उपस्थिति, आवश्यक दक्ष जनशक्ति र सुरक्षित मातृत्व सेवा सुनिश्चित गर्न नगरपालिकासँग माग गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖