मान्छेहरुले छ्याप्पै भरिएको धनकुटाको टुडिखेल
ध्रुव एलेक्स/(पाख्रीबास)धनकुटा । २०८१ वैशाख २९ गते धनकुटाको टुडिखेलमा शहिद भीमनारायण कपको १६औ संस्करण फुटबल प्रतियोगिता खचाखच मानिसहरुको भीडमा भब्यताको साथ सफल भएको छ । दिनको करिब ४ बजे तिर समापन सत्र कार्यक्रम पश्चात् सुभारम्भ हुनुपूर्व टुडिखेलमा अन्तराष्ट्रिय स्तरको रोचक उद्घाटन हेर्न सकिन्थ्यो । बेलुनको ठुलो झुप्पो आकाशतिर निक्कै माथि उड्यो । आसपासमा सिङ्गल बेलुनहरुको उडानको दृष्यले वातावरण रोमान्टिक बन्यो ।
अझ आकाशमा उडेका बेलुनहरुसंग कुस्ति खेलौला झै गरेर झुम्मिएका कागहरुले पानी परेर उग्रिएको धनकुटाको आकास कस्तो लोभलाग्दो देख्न सकिन्थ्यो ।
मैदानमा बेला – बेला बड्याङ – बड्याङ बमको आवाजहरु फिट गरेर पड्काइएको सरप्राइजिङ दृष्यले १० वटा प्याराफिटमा टनाटन मानिसहरुको एकै स्वर थियो wow…..wow….wow . लाग्थ्यो देशमा ठुलै परिवर्तन हुँदैछ र धनकुटेलीहरु त्यस अभियानमा आन्दोलनका लागि तयार छन् ।
करिब २०५५ सालबाट श्रीगणेश भएको उक्त खेलप्रतियोगिता अन्य वर्ष भन्दा यो पटक निक्कै व्यवस्थित आयोजना भएको महसुस गर्न सकिन्थ्यो । विशेष धन्यवाद धनकुटा नगरपालिका र उक्त पालिकाका प्रमुख चिन्तन तामाङ ।। धनकुटाका सातै स्थानिय तहहरुको उक्त खेल प्रतियोगितालाई सानोतिनो सहयोग उद्घोषक मार्फत बुझ्न सकिन्थ्यो लाग्थ्यो फुटबल एक महत्त्वपूर्ण खेल हो जसको विकास र प्रवर्द्धनमा आम धनकुटा सहयोगका लागि तयार छ । सायद सबैको आर्थिक मलजल पुगेर होला खेल निशुल्क हेर्न सक्ने तौरतरिका मिलाइएको थियो । छिमेकी जिल्ला र विशेषत धनकुटाका फुटबलप्रेमीहरुले कसैले पनि खेल छुटाएनन् ।भीड त्यसो भनिरहेको थियो ।
काठमाडौं उपत्यकाको न्यानो हावापानीमा प्रशस्तै खेलहरु खेलिसकेको APF र झापाको रापतापमा निक्कै कसरतले खेल बनाएको विर्तामोड झापाका बिचमा फाइनल खेल सुरु भयो । आम दर्शक धनकुटेली । खेलाडीहरु देशैभरिबाट छनौटमा परि क्लबहरुमा आबद्दता भएकाले हामी उनिहरलाई कमै चिन्थ्यौ ।
न चर्को घाम न छिपछिपे वर्षात न बतास क्या घमाइलो मावल । फूटबल खेल्न त सदा धनकुटा आउन परोस भने होला खेलाडीहरुले पनि । मैदानको दक्षिणीभागमा स्टेजमा चट्ट बसेका धनकुटाका परिचित अनुहारहरु । उत्तरपट्टि प्याराफिटमा खुट्टो राख्न नसकिने भिडमभाड भएतापनि मिलेर बसेका दर्शकमहानुभावहरु ।
उसो त वल्लो पोष्ट पल्लो पोष्टको पछिल्लोपट्टि उस्तै पलैटी कसेर खेलको मज्जालिइरहेका महानुभावहरुको भलाद्मीपना र संयम हेराई मध्यनजर गर्न सकिन्थ्यो । खेल भइरहेको थियो । बीचमा एकाएक हातहालाहाल भयो । ठेलाठेल भयो । कस्तो मज्जाले APF हरु एकातिर गोलबद्द भएका । झापालीहरु अर्कातिर । कोहि लड्डी गरौला झै गरिरहेका कोहि त्यस्तो हुन नदिन साथिहरुलाई समाइ रहेका । थमथमाइरहेका । रेफ्रि साइडमा बसेर कम्मरमा हात लगाई मुस्कुराइरहेको अवस्था ख्याल मज्जाको थिएन ।
त्यतिबेला त्यति ठुलो दर्शकहरुको चिच्याहट एकाएक स्तब्ध भयो । सुनसान ।१००% ध्यान कुटाकुट हुन खोजेतिर । दगुर्दा – दगुर्दा मुटु भकभक गरेको हुदो हो । दिमाग रन्केको हुदो हो नलीखुट्टोमा चुच्चो सुजले ठोक्दा कता लाप्पा पर्न नखोजोस त ! मावल शान्त भयो । रेफ्रि ले पालैपालो बोलाएर खेलको मर्यादा उल्लंघन गर्नेहरुलाई पहेलो कार्ड देखाए ।अघि जोशमा आएका खेलाडी एकाएक कान समाएर माफी मागे । बित्थामा त्यसरी झम्टिएछ झै फिल देख्न सकिन्थ्यो । खेल पुन सुचारु भो । झन तुफान आयो खेलाडीहरुमा । निक्कै माथि उफ्रेर टाउकाले बल हान्न नसकेपछि दुई खेलाडीको टाउको ठोक्किदा तिरिमिरि झ्याइ देखेर पछारिए पनि । रेफ्रिले मेडिकल बोलाए । मेडिकल टिम चितुवाले मृग खेदाउदा कुदे जस्तो बुर्कुसी मारेर तु.. हाजिर । स्प्रे हान्न साथ खेलाडि तन्दुरुस्त उठेर आफ्नो प्लेसमा गुडुडु……।
बहुत प्रतिस्पर्धा त हुने नै भयो । त्यसै पनि फाइनल खेल । नाम शहिद भीमनारायण कप भएर मात्र नाम विश्वकप या युरोकप हुन्थ्यो भने । खेल विश्वकप हेरेजस्तै थियो । युरोकप हेरेजस्तै थियो । मेसी र रोनाल्डो भन्दा स्किल थोरै कम भएपनि मज्जा त उनीहरु बराबर नै लिन सकिन्थ्यो । स्वारेज र एम्बाप्पे जति पखेटा फिजार नदौडे पनि उडेनै जत्तिको गरिरहेको सिनारियो देखिन्थ्यो ।
कताकता मासमा सुनिन्थ्यो APF भनेको सरकारी दानापानी खाएको । डाइट पेलाको पेलाइ गर्छ । कामै त्यहि खेल्ने र खाने हो । बन्दुक बोकेर हिड्न नि पर्दैन डन्ठा बोकेर ड्युटि गर्न नि पर्दैन । हारे नि हुन्थ्यो । हारे नि तलब भत्ता आइहाल्छ । झापाली विचराको भरे घर जादा बाउले भात नदिएर खेदाउन सक्छन् । कतिजनाले कति विदेश अप्लाई गरेका छन् । जिते नि हुन्थ्यो । ओहो ! कस्तो मन छोयो ! भन्दा नभन्दै दोस्रो हाल्फ पछि सरासर तीन गोल गरेर विर्तामोड झापाका खेलाडीहरुले रु ५००,००० राशीको पुरस्कार उठाउन सफल भए । हरेक प्रहारले मिस खानुपरेन । झापालीहरुको गोलमा धनकुटेलीहरु एकै स्वरमा झापा – झापा भनेर सक्दो कराइरहेका हुन्थे भने सुसेली मारेर फुल समर्थन गरिरहेको देखिन्थ्यो ।
सायद गाउबाट अनेक हन्डर र ठक्करका बामजुत खेलमा निरन्तर खेलिरहेका भएर पनि हुनसक्छ अधिकाङ्स हुटिङ झापाले पाएको । APF ले थुप्रै प्रहारहरु गोलपोष्ट बाहिर गर्यो । वान टु वान प्रहार ले मिस खायो । पेनाल्टीको अबसर खेर गयो । यो संगै २५०,०००/ राशीको उपविजेतामा चित्त बुझायो । मन चाहि APF ले नि धेरैको जितेकै हो । खेल त दमदार र स्किलफुल थियो । अन्तिम विस्सल बजेपछि सबैजना उठे र कराए । कराउदा धनकुटाको एकता जिन्दवाद – जिन्दवाद भनेजस्तो सुनिन्थ्यो । समग्र धनकुटाको चौतर्फी विकास र निर्माण कार्यले पनि फुटबलमा झै सबैलाई समावेशी सम्बोधन गर्न सकोस् । एकताको मालामा गाँस्न सकोस् भनिकन फेरि पनि यति भब्य फुटबल खेल सम्पन्न गर्न लागिपर्नुहुने सकोकारवालाहरुलाई देब्रे खुट्टो बजारेर दाहिने हातको छड्के सलाम ।


