साँगुरीगढी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको आयोजनामा निःशुल्क विशेष स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा यहि २०८२ साल जेठ १३ र १४ गते दुई स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार जेठ १३ गते मङ्गलवार बूढीमोरङमा र जेठ १४ गते बुधबार आहले स्वास्थ्य चौकीमा बिहान ९ बजेबाट शिविर सुरु हुनेछ।
शिविरमा बालरोग, प्रसूति तथा स्त्रीरोग, जनरल मेडिसिन, हाडजोर्नी तथा नसा, दन्तरोग, नाक कान घाँटी, मानसिक रोग, शल्यचिकित्सा, रेडियोलोजी, प्रयोगशाला परीक्षण (रक्त, पिसाब जाँच), र मुख तथा गला सि.सी. परीक्षण लगायतका सेवा निःशुल्क प्रदान गरिनेछ।
गाउँपालिकाले सम्पूर्ण गाउँवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई शिविरमा उपस्थित भई स्वास्थ्य सेवा लिन हार्दिक अनुरोध गरेको छ।


