डा. भोला रिजालको ‘मेरो मृत्युपछि’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘मेरो मृत्युपछि’ को भिडिओ लोकार्पण भएको छ । गीतकार सङ्घका अध्यक्ष वसन्त बित्याशी थापाको अध्यक्षतामा आज सम्पन्न एक भव्य समारोहमा सो म्युजिक भिडिओको लोकार्पण गरिएको हो। कार्यक्रम गीतकार सङ्घ नेपालले आयोजना गरेको हो ।

वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको यो भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को छायाँङ्कन, सम्पादन तथा निर्देशनमा तयार भएको हो भने लोकश भाटले सह सम्पादन र भीएफएक्सको काम गरेका छन् । भिडिओकी निर्मात्री सरला रिजाल हुन्। गीत तथा भिडिओले मृ*त्यु पछिको अङ्गदानको महत्वलाई गहिरो ढङ्गमा प्रकाश पारेको छ । मृत्यु पछि त्यसै खेर जाने मानव शरीरका अङ्गहरु दान गर्दा अर्को जीवित मान्छेले नयाँ जीवन पाउने कुरालाई भिडिओमा मर्मस्पर्शी ढङ्गमा प्रस्तुत गरिएको छ। भिडिओमा गीतकार डा.भोला रिजाल, डा.रिता गुरुङ, डा.भगवान कोइराला, डा.पुकारचन्द्र श्रेष्ठ, डा.ज्योतिन्द्र शर्मा लगायतको जीवन्त अभिनय रहेको छ ।

डा.भोला रिजाल शब्द, सङ्गीत र स्वरका त्रिवेणी प्रतिभा हुन्। उनले रचना गरेको पहिलो रेकर्डेड (२०२० साल) गीत ‘म मान्दिनँ जात र धर्म कसैको’ हो भने २०२६ सालमा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ उनको स्वरको पहिलो रेकर्डेड गीत हो । डा. रिजालकै रचना,सङ्गीत र स्वरमा रेकर्ड भएको यो गीत उनको साङ्गीतिक इतिहासको दस्तावेज नै बनेको छ ।

डा. रिजाल वि.सं. २००४ साल कात्तिक १४ गते धरानको पुरानो बजारमा जननीप्रसाद रिजाल र पूर्णमाया रिजालको साहिँलो सन्तानको रूपमा जन्मिएका हुन्। उनी सानैदेखि हरेक क्षेत्रमा उत्तिकै सक्रिय थिए। साहित्यसँगै सामाजिक कार्य र खेलकुद गतिविधिमा समेत उनको विशेष रुचि थियो। एसएलसीको तयारी गर्दैगर्दा १५ वर्षका डा.भोला रिजालको विवाह १२ वर्षीय सरला घिमिरेसँग भएको थियो। कला र साहित्यको वंशाणुगत गुण लिएर आएका डा. भोला रिजालका हजुरबुबा ध्रुवलाल र बुबा जननीप्रसाद रिजालमा पनि अब्बल साहित्यिक शिल्प थियो।

९ कक्षासम्म धरान पब्लिक स्कुलमा अध्ययन गरेका डा. रिजालले एसएलसीसम्मको पढाइ विराटनगरबाट पूरा गरेका थिए। हिमकला मन्दिरबाट ‘कानुनकी आखेमे’ जस्ता नाटक देखाउन उनको समूह भारतको वीरपुर, जोगवनी, फार्विसगञ्जसम्म पुग्ने गर्थ्यो । एसएलसीपछि आईएस्सी पढ्न वनारस गएका रिजालले त्यहाँ पुगेर पनि कलाकारितालाई निरन्तरता दिएका थिए। अहिलेसम्म ३५ सयभन्दा बढी गीत लेखिसकेका रिजालका स्वरमा ३०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । गीति लेखनका हिसाबले करीब ६ दशक पुगिसकेको छ । पेसाले चिकित्सक भए पनि साहित्य सिर्जनामा सदैब दत्तचित्त भएर लागिरहेका कलाकार/सर्जक रिजालका मेरो पौवा पाटी, ईश्वर आफैं बोल्छ, मेरी सान्नानी, शुभकामना, सगरमाथा रोइरहेछ, सारङ्गीको तार टुट्यो, यात्रा, पपकर्न लगायतका १३ वटा गीति एल्बम प्रकाशन भैसकेका छन् । त्यस्तै उनले ठूलो पर्दाका ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जूनतारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली–ओराली’ र ‘गौँथली’ जस्ता ८ वटा चलचित्र निर्माणका साथै ती चलचित्रमा कथा लेखन र गीत लेखन समेत गरेका छन्। यीमध्ये ‘गौँथली’ गीति चलचित्र हो । जसमा महिला हक अधिकार र छोरीलाई शिक्षा दिनुपर्छ भन्ने सन्देश रहेको छ ।

डा. रिजालका मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेऊ न, निधारमा रातो माटो शीरमा टोपी राखें, भागेर भए पनि आऊ जस्ता दर्जनौं हिट गीत रहेका छन् । डा. रिजाल यतिबेला पनि गीत लेखन र जीवनी लेख्ने क्रममा नै रहेका छन्। भिडिओ लोकार्पण समारोहमा डा. पुकार श्रेष्ठ, डा. सुधिर शर्मा, गीतकार तथा स्वास्थ्यकर्मी सरला श्रेष्ठ, वरिष्ठ पत्रकार जिबराम भण्डारी, देउराली जनता फार्मेशीका अध्यक्ष हरिभक्त शर्मा लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चारकर्मी एवं गीतकार सुमन बैरागी पण्डितले सञ्चालन गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।