सन्दीप लामिछाने ‘डेनिम एन्ड डेभिल्स’को ब्रान्ड एम्बेसडरमा पुनः नियुक्त, भने, ‘यो पारिवारिक सम्बन्ध हो’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने लोकप्रिय क्लोथिङ ब्रान्ड ‘डेनिम एन्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडरमा पुनः नियुक्त भएका छन्। बिहीबार काठमाडौंको होटल हिमालयमा आयोजित एक विशेष समारोहमा सन्दीप र कम्पनीबीच तीन वर्षे सम्झौतामा हस्ताक्षर भएको हो।

यो सहकार्यलाई कम्पनीले ‘रिसाइन्ङि’ (पुनः सम्झौता) को संज्ञा दिएको छ, किनकि सन्दीप यस ब्रान्डसँग जोडिने पहिलो एम्बेसडर पनि थिए।
सम्झौता समारोहमा बोल्दै डेनिम एन्ड डेभिल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) घनश्याम काफ्लेले सन्दीपसँगको सहकार्यले पुनः निरन्तरता पाएकोमा खुशी व्यक्त गरे। ‘आजको कार्यक्रम साइनिङ सेरेमोनीभन्दा पनि ‘रिसाइन्ङि सेरेमोनी’ हो,’ काफ्लेले भने, ‘हाम्रो ब्रान्डको पहिलो एम्बेसडर नै सन्दीप हुनुहुन्थ्यो। बीचमा केही कारणले रोकिएको सहकार्य फेरि सुरु भएको छ। ढिलै भए पनि यो यात्रा अघि बढेको छ।’

सीईओ काफ्लेले सन्दीप आफैँमा एक स्थापित ब्रान्ड भएको र उनको उपस्थितिले कम्पनीलाई थप उचाइमा पुऱ्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे। ‘सन्दीपको बारेमा धेरै भनिरहनुपर्दैन। उहाँ आफैँमा एक ब्रान्ड हुनुहुन्छ। सानै उमेरमा नेपाललाई विश्वमा चिनाउने खेलाडी भएकाले उहाँलाई एम्बेसडर बनाउँदा कम्पनीलाई पनि फाइदा पुग्ने विश्वास छ,’ उनले थपे।

कार्यक्रममा क्रिकेटर सन्दीप लामिछानेले डेनिम एन्ड डेभिल्ससँगको आफ्नो सम्बन्ध व्यावसायिक मात्र नभएर पारिवारिक रहेको बताए। ‘उहाँहरूसँग मेरो लामो कथा छ। सन् २०१८ मा घनश्याम दाईसँग भेट भएपछि सुरु भएको सहकार्यको यात्रा आफैँमा सुन्दर थियो,’ सन्दीपले आफ्नो अनुभव सुनाए, ‘उहाँहरूले मलाई सधैँ परिवारको सदस्यजस्तै व्यवहार गर्नुभएको छ। यो तीन वर्षको लागि मात्र होइन, म यो सहकार्यलाई अझै लामो समयसम्म अगाडि बढाउन चाहन्छु।’

सन्दीपले डेनिम एन्ड डेभिल्सले अब पुरुषका लागि मात्र नभई युनिसेक्स (महिला र पुरुष दुवैका लागि) कपडा पनि बजारमा ल्याउन लागेकोमा बधाई दिँदै यसले ब्रान्डलाई अझ फराकिलो बनाउने बताए।

सम्झौता तीन वर्षको लागि भए पनि दुवै पक्षले आर्थिक पाटो भने खुलाएका छैनन्। डेनिम एन्ड डेभिल्सले उच्च गुणस्तरका जेन्स तथा युनिसेक्स कपडाहरूको उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।
सन्दीपले नेपालका लागि ६२ एकदिवसीय र ६२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले ओडीआईमा १२७ र टी २० आईमा ११७ विकेट लिएर कीर्तिमान बनाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖