धनकुटाको देउराली युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग २०२५ मा सहभागीता जनाउने
धनकुटा, ४ साउन । धनकुटाको देउराली युथ क्लबले अखिल नेपाल फुटवल संघ एन्फाको आयोजनामा यही साउनमा हुन गईरहेको एन्फा प्रेसिडेन्ट लिग २०२५ मा सहभागीता जनाउने भएको छ ।
धनकुटामा आज पत्रकार सम्मेलन गर्दै क्लबले कोशी प्रदेश स्तरीय प्रिमियर लिगको उपविजेताको हैसियतमा प्रतियोगितामा छनोट भएकोले सहभागिताका लागि तयारी तिव्र पारेको जानकारी गराएको हो । धनकुटा जिल्ला बाट यति ठूलो प्रतियोगितामा अहिले सम्म कुनै क्लबले सहभागिता नजनाएकोले पनि क्लबका लागि यो प्रतियोगिता इतिहास रच्ने मौका रहेको क्लबका कोषध्यक्ष आशिष राईले बताए ।
खेलाडी तथा प्रशिक्षक छनोट अन्तिम चरणमा पुगेको र हाल आर्थिक संकलनको काम भई रहेको राईको भनाई थियो । उक्त लिगमा टप फोरमा पुग्ने टिमले राष्ट्रिय लिगमा सहभागिता जनाउन पाउने भएको हुदाँ टीम बलियो बनाउन लागि परेको देउराली युथ क्लबका अध्यक्ष उदिप राईले जानकारी दिए ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि २० लाख रुपैया खर्च हुने अनुमान रहेको क्लबले जनाएको छ । प्रतियोगितामा देउराली क्लब धनकुटा, गाइघाट फुटवल क्लब उदयपुर, नवजाग्रीती क्लब बारा,चितलाङ फुटवल क्लब काठमाण्डौ, टाईगर्स टिम टिकाथातल दोलखा, जनजाग्रीती युवा क्लब बर्दिया, काक्रेविहार युथ क्लब सुर्खेत, विजय स्पोर्टस् क्लब गण्डकी, गण्डकी प्रदेश लिग च्याम्पियन क्लब,प्रोग्रेशिव युथ क्लब मधेस प्रदेश र गण्डकी प्रदेश उपविजेता टिमको सहभागिता रहने छ ।


