कुलमानलाई एनआरएनए यूकेको भव्य स्वागत , नेतृत्वमा आउन समुदायको सुझाव

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङसंग अल्डरसटमा भव्य ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ ।

अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा शुक्रबार एम्पायर हलमा आयोजित उक्त समारोहमा कुलमानको स्वागत सम्मान र उनका कुरा सुन्न सयौं सहभागी भए । उनको सम्मानका लागि स्टेज चढ्न संघसंस्थाका प्रतिनिधि र व्यक्तिहरुको लामो भीड लागेको थियो ।

अल्डरसटलाई आफ्नो दोश्रो घर बताउने गरेका गोर्खाहरुमाझ उभिएर कुलमानले गोर्खाको योगदानकै कारण नेपालको पहिचान विश्वभर पुगेको बताए ।

हल प्रवेश गर्नु अघि अल्डरसट प्रिन्सेस गार्डेनमा रहेको प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिकमा श्रद्धान्जली अर्पण गर्दै घिसिङले ‘रिथ’ चढाए । अध्यक्ष प्रेम गाहामगरले पनि रिथ चढाएका थिए ।

संयोग कस्तो भो, भिजे डे अर्थात जापानमाथि विजय दिवस परेको दिन । प्रत्येक वर्ष १५ अगस्टमा यो दिवस मनाइन्छ जुन दिन सन् १९४५ मा जापानले मित्र राष्ट्रहरूसमक्ष आत्मसमर्पण गरेर लगभग छ वर्षपछि दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो ।

सालिकमा रिथ चढाएपछि पञ्चे बाजा र पाइपर धुनका साथ बेलायत अनि नेपालको झण्डा बोकेका नेपालीहरु सम्मिलित रयालीमा सहभागी भएर कुलमान हल प्रवेश गर्दा उनले निकै गौरवान्वित महशुस गरेको बताए ।

बेलायतका ५९ संघसंस्थाका प्रमुख, बुद्धिजिवी, व्यवसायी र सर्वसाधारण सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी घिसिङले आफ्नो न्यानो माया, स्वागत सम्मानका लागि आयोजकप्रति आभार व्यक्त गरे । एयरपोर्टदेखि नै प्राप्त माया, सद्भाव, स्वागत सत्कार र विश्वासका कारण करिब २० वर्षपछिको आफ्नो यो बेलायत भ्रमण अविष्मरणीय बनेको उनले सुनाए ।

सरकारले कार्यसम्पादनमा शून्य मूल्यांकन दिएपनि वा कारवाही गरेपनि ४ महिनायता देश विदेशका नेपालीहरुबाट प्राप्त अथाह माया, सद्भाव र विश्वास नै आफ्ना लागि ठूलो मूल्यांकन भएको घिसिङले बताए ।

उनले विश्वमा नेपाल चिनाउने प्रमुख तीन कुरा सगरमाथा, गौतम बुद्ध र गोर्खा भएको बताउंदा हलमा सहभागी सयौंले तालीको गडगडाहटबाट सम्मान गरे ।

‘नेपालको राष्ट्रियता बच्नुमा र बेलायतसंग पहिलो दौत्य सम्बन्ध कायम हुनुमा गोर्खाहरुको ठूलो भूमिका छ । यही हो हाम्रो सम्पत्ति’, उनले भने ।

घिसिङले आफूले शुरु गरेको उज्यालो नेपाल अभियानबारे पनि प्रष्टयाए । बत्तीको उज्यालो भएर मात्र देश नबन्ने भएकाले अब हरेक क्षेत्रमा समृद्धि, परिवर्तन, सामाजिक न्याय, नयां लिडरसीप र निराशालाई आशामा बदल्न आफूले यो अभियान थालेको उनले बताए ।

‘यस सामाजिक अभियानमा म विश्वभर र स्वदेशमा रहेका नेपालीलाई जोड्न चाहन्छु’, उनले भने, ‘तपाईंहरु सबैले साथ दिए यो अभियान सफल हुन्छ भन्ने विश्वास मलाई छ ।’

विद्युत क्षेत्रमा आफ्नो ३० वर्ष र कार्यकारी भूमिकामा झण्डै १२ वर्ष अनुभव रहेको उल्लेख गर्दै घिसिङले बेलायतकै सहयोगमा सन् १९११ मा बनेको फर्पिङ हाइड्रोपावर नै नेपालको पहिलो भएको स्मरण गरे । आफ्नो ८ वर्षे कार्यकाल (प्रवन्ध निर्देशक हुंदा) मा शतप्रतिशत जनतामा बिजुली पुगेको सुनाउंदै उनले हाल ४ हजार मेगावाट उत्पादन र झण्डै ७ हजार मेगावाट बिजुली निर्माणाधिन अवस्थामा रहेको जानकारी दिए ।

उनले निजी क्षेत्र खुल्ला गरिएपछि ८ वर्ष यता झण्डै ५ गुणा बढी बिजुली उत्पादन भएको समेत बताए । घिसिङले अहिले नेपालले भारत र बंगलादेशमा करिब एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको समेत जनाए ।

गत वर्ष १७ अर्ब निर्यात हुंदा आयात १२ अर्ब रुपैयां मात्र भएको आंकडा उनले प्रस्तुत गरे । घिसिङले ३० वर्षसम्म घाटामा रहेको विद्युत प्राधिकरणलाई आफ्नो ८ वर्षे कार्यकालमा करिब ९० अर्ब रुपैयां नाफामा लैजान सकेको तथ्यांक पनि प्रस्तुत गरे । नेपालमा वर्षेनी १५ खर्ब रुपैयां रेमिटेन्स भित्रने र त्यो मध्ये करिब ७ खर्ब खाडी मुलुकबाट हुने भएपनि राज्यले आफूहरुलाई अपमान गर्ने गरेको उनीहरुको गुनासो सुन्दा दुःख लागेको घिसिङले बताए ।

‘जिडिपीको २७ प्रतिशत योगदान रेमिटेन्सबाट छ । यसले विदेशी मुद्रा आर्जन गरेर हाम्रो अर्थतन्त्र धानिरहेको छ । तिनै खाडीका नेपालीलाई हेला गर्ने, वंशजको नेपाली नागरिकता नदिएर युरोप, अमेरिका लगायत पश्चिमा देश बसेका नेपाली र पेशेबरहरुलाई नेपाल फर्कन वा लगानी गर्न रोक्नु ठीक होइन्’, उनले भने ।

उनी अमेरिका जानु अघि खाडीका ४ मुलुकसमेत पुगेका थिए ।

विशेष अतिथी अवकास प्राप्त लेफ्टिनेन्ट कर्णेल टोल खाम्चामगरले गोर्खा अहिले विश्वचर्चित एउटा ‘ब्राण्ड’ बनेको उल्लेख गर्दै उनीहरुको योगदान कदर गर्ने हो भने समान पेन्सन लगायत सुविधामा बेलायत सरकारले पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

अर्का विशेष अतिथी तामाङ घेदुङ यूकेका अध्यक्ष हरिसिंह वाइवाले देशको समृद्धिका लागि अब कुलमानको नेतृत्वको विकल्प नरहेको बताए । परम्परागत दलहरुबाट जनता थाकिसकेकाले नयां शक्तिको आवश्यकतामा जोड दिंदै वाइवाले घिसिङ राजनीतिमा आए बेलायतका नेपालीले पूर्ण सहयोग गर्ने धारणा राखे ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सहभागी र सहयोगी सबै संघसंस्था एवं व्यक्तिहरुप्रति हार्दिक आभार व्यक्त गर्दै प्रमुख आतिथ्यता गरेकामा घिसिङप्रति कृतज्ञता व्यक्त गरे ।

गाहामगरले देश परिवर्तन गर्न सामाजिक अभियान लिएर निस्किएका घिसिङलाई इन्करेज गर्न, सल्लाह सुझाव दिन र झोले र दलेहरुको गलत मार्गनिदेशनबाट सचेत गराउन कार्यक्रम गरिएको बताए ।

बेलायतका नेपालीहरुले घिसिङलाई देशको नेतृत्वमा पुगेको हेर्न चाहेको बताउंदै उनले नेतृत्वमा गए वंशजको नेपाली नागरिकता कायम राख्न पहल गर्न आग्रह गरे ।

महासचिव जुरेन्द्र खजुमले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक अनिल मल्लले स्वागत मन्तव्य दिए । कार्यक्रममा प्रायोजकहरु, सहयोगी, कलाकार, मिडिया र नव नियुक्त सल्लाहकारहरुलाई प्रमुख अतिथी घिसिङ र अध्यक्ष गाहामगरले प्रमाणपत्र र सम्मान गरे ।

दोश्रो चरणमा एनआरएनए यूके महिला सचिव जानुका राईले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेकी थिइन् । सो अवसरमा मोना यूके कल्चरल टिमले विभिन्न सांस्कृतिक प्रस्तुति दिएको थियो । तामाङ सेलोसहित खुकुरी नृत्य र प्रथम नेपाली तारा दीपक लिम्बुले गायन प्रस्तुत गरे । प्रथम नौमति बाजा गुल्मी यूकेले पञ्चेबाजा प्रस्तुत गरेर कुलमानलाई स्वागत गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।