शनिबार दिउँसोदेखि सुरु हुने भारी वर्षाले देशभर बाढी र पहिरोको उच्च जोखिम
काठमाडौ । मौसमविद्हरुले शनिबार दिउँसोदेखि सुरु हुने भारी वर्षाले देशभर बाढी र पहिरोको उच्च जोखिम ल्याउने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। उनीहरूले चितवन, मकवानपुर, काठमाडौं, काभ्रे लगायतका जोखिमयुक्त क्षेत्रका राजमार्गहरू बन्द गर्न सुझाव दिएका छन्।
भारतको उडिसा नजिकै विकसित भएको मौसम प्रणाली बिहार हुँदै नेपाल प्रवेश गर्ने अनुमान छ, जसले मधेशदेखि काठमाडौं उपत्यका र पश्चिमका विभिन्न क्षेत्रमा भारी वर्षा गराउनेछ। विशेष गरी वीरगञ्ज, जनकपुर, काठमाडौं उपत्यका, नारायणगढ–मुग्लिन–नागढुंगा, हेटौंडा–काठमाडौं, बनेपा–बर्दिबासलगायतका राजमार्ग पहिरोको जोखिममा रहेको चेतावनी दिइएको छ।
विपद व्यवस्थापन विज्ञहरूले भारी वर्षाका बेला काठमाडौं उपत्यकाकै आवतजावत पनि नियन्त्रण गर्नुपर्ने बताएका छन्। नदी किनार र होचो भूभागका बस्तीमा डुबानको जोखिम उच्च भएकाले सतर्क रहन सुझाव दिइएको छ।
मौसमविद्हरूका अनुसार, शनिबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने र आइतबार रातिसम्म कोशी प्रदेशमा भारी वर्षा पुग्नेछ। सोमबार बिहानदेखि भने मौसम क्रमशः सुधार हुने अनुमान गरिएको छ।


