प्रविधिको दुरुपयोगले लैंगिक हिंसाका घटना बढ्दै गएको

विराटनगर । प्रविधिको दुरुपयोगका कारण लैंगिक हिंसा र उत्पीडनका नयाँ आयामहरू थपिँदै गएको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्तहरूले बताएका छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत गैरसरकारी महासंघ मोरङको समन्वय तथ जिल्ला प्रशासन कार्यालय मोरङको सहकार्यमा राष्ट्रिय महिला आयोगले विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरूले प्रविधिको दुरुपयोगले समाजमा उत्पीडनसँगै हिंसाका घटनाहरू वृद्धि भएको बताए । कार्यक्रममा आयोगकी सदस्य कृष्णकुमारी पौडेलले परिवारका कोही सदस्य हिंसामा परे परिवार ध्वस्त हुने बताइन् ।

उनले प्रविधिको दुरुपयोगले मानव बेचबिखन, महिला र किशोरीहरूको बेचबिखन बढ्दै गएको चर्चा गरिन् । ‘डिजिटलको दुरुपयोगले मानव बेचबिखन, महिला र किशोरी र एकल महिलाहरूको बेचबिखन बढ्दै गएको छ,’ उनले भनिन्, ‘अझ श्रीमान विदेशमा हुने महिलाहरूलाई प्रविधिमार्फत ब्रोकरहरू नजिकिने गर्छन् र विस्तारै महिलाहरू ती ब्रोकरसित नजिकिँदा बेचबिखनमा पर्छन् । यस्ता विषय घरघरमा पुर्याएर सचेतना जागृत गराउनु जरुरी छ ।’ उनले लैंगिक हिंसा, मानव बेचबिखन रोक्न संघसंस्था मात्रै नभएर तीनै तहको सरकारले कार्य गर्नुपर्नेमा जोड दिइन् ।

अन्तरक्रियामा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले लैंगिक हिंसा रोक्न विभिन्न संघसंस्थाहरू सक्रिय भए पनि कमी आउन नसकेको बताए । कोइरालाले प्रविधिको बढ्दो प्रयोगले पनि महिला बेचबिखनका घटना बढ्दै गएको उल्लेख गरे । सामाजिक सञ्जालमार्फत जोडिएर महिला र किशोरीहरूलाई विभिन्न प्रलोभनमा पारी बेचबिखन गर्ने गरेको तथ्यहरू बाहिरिरहेको उनको भनाइ थियो ।
गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले पछिल्लो समय समाजमा लैंगिक हिंसा र मानव बेचबिखनका घटना बढ्दै जानुमा प्रविधिको दुरुपयोग नै मुख्य कारण रहेको बताइन् । उनले महिला आयोगलाई प्रदेशस्तरमा पनि सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइन् ।

विराटनगर महानगरपालिकाको महिला, बालबालिका तथा ज्जेष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु लोहनीले बालबालिकासम्बधी ऐन संशोधन गर्नुपर्नेमा जोड दिइन् । उनले विद्यमान ऐन–कानुनलाई परिमार्जन गर्नु आवश्यक रहेको औल्याइन् ।

अन्तरक्रियामा आफन्त नेपालकी अमृता घिमिरेले पछिल्लो समय किशोरीहरू लागूऔषधको प्रयोगमा फस्दै गएको बताइन् । जेनजी आन्दोलनपछि सिमानामा सीसी क्यामेरा नहुँदा बेचबिखनका घटना नियन्त्रणमा समस्या भएको सुनाइन् ।

सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मीना जोशीले पीडितले समयमा न्याय नपाउँदा हिंसाका घटनामा कमी आउन नसकेको प्रस्ट्याइन् ।

मानव अधिकारका लागि एकल महिला मञ्चकी अध्यक्ष चूडा रेग्मीले समाजमा एकल महिलाको अवस्था दयनीय रहेको सुनाइन् । उनले १६ वर्षका किशोरीहरूसमेत एकल महिलाका रुपमा रहेको जानकारी दिइन् । रेग्मीले एकल महिलाहरू समाजबाट मात्रै नभएर घरपरिवारबाट समेत प्रताडित हुने गरेको बताइन् ।

अन्तरक्रियामा इस्लामिक संघ नेपाल कोशी प्रदेशका मो फारुक नदवी, नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष धर्मेन्द्र ऋषिदेवलगायतले लैंगिक हिंसा अन्त्यका लागि शिक्षामा जोड दिनु आवश्यक रहेको सुझाव दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।