झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा खुकुरी प्रहार, एक व्यक्ति घाइते
झापा । झापाको दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा मङ्सिर १६ गते साँझ खुकुरी प्रहार हुँदा एक व्यक्ति घाइते भएका छन्।
मंगलबार राति करिब ९ बजे बेलडाँगी शिविर सेक्टर A3 हट नं. २०० बस्ने २९ वर्षीय प्रदीप विश्वकर्मामाथि सोही शिविरका ४८ वर्षीय मंगलसिंह राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।
सामान्य वादविवादका क्रममा अचानक भएको प्रहारबाट प्रदीपको घाँटीको बायाँ भागमा चोट लागेको प्रहरीले बताएको छ। घाइतेलाई तत्काल उद्धार गरी दमक अस्पताल पुर्याइएको र अहिले बोल्न सक्ने मध्यम अवस्थामै रहेको अस्पतालले जानकारी दिएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले राईलाई घटनामा प्रयोग गरिएको खुकुरीसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको छ।


