आज उँधौली चाड : किरात समुदायले धुमधामसंग मनाउंदै
काठमाडौ । मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन बिहिबार किराँत समुदायले पितृको सम्मान र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै उँधौली पर्व देशभर धुमधामसँग मनाइरहेका छन् । यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
किराँत समुदायका विभिन्न समितिहरूले यो पर्व आफ्ना सांस्कृतिक परम्परा अनुसार मनाउने गरेका छन् । याक्खा समुदायले चासुवा, सुनुवारले फोलस्यादर, राईहरूले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम नामले यो पर्व मनाउँछन् । लिम्बू समुदायमा चासोक तङ्नाम तीन दिनअघिदेखि नै सुरु भइसकेको थियो ।
उँधौली पर्वमा किराँत समुदायले वर्षभरि लगाइएका अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खान अनुमति माग्ने र पितृलाई स्मरण गर्ने गर्दछ ।
बाली रोप्ने समय भने यावा अर्थात् उँभौली पर्व मनाइन्छ । उँभौलीमा राम्रो उत्पादनको कामना गरिन्छ भने उँधौलीमा प्राप्त फलफूल तथा अन्नबालीप्रति कृतज्ञता व्यक्त गर्दै भूमे–साकेलालाई धन्यवाद दिने प्रचलन छ ।


