जेनजी आन्दोलनमा दमन र घुसपैठ गर्नेलाई कडा कारबाही हुनुपर्छ :संयुक्त नागरिक पार्टी अध्यक्ष कामी
काठमाडौँ, मंसिर १८ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त नागरिक पार्टीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। बिहीबार अनामनगरस्थित सम्वाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले नयाँ सोच, नयाँ नेतृत्व र वैकल्पिक राजनीतिक संस्कृतिको वकालत गर्दै आगामी निर्वाचनका लागि तयार रहेको घोषणा गरेको छ ।
कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष दलमर्दन कामीले मुलुकमा दशकौँदेखि हाबी पुरानो सोच, पुरानो शैली, पुरानो दर्शन र पुरानो राजनीतिक नेतृत्व अब पूर्णरुपमा असफल भइसकेको दाबी गर्दै उनले भने,“अब यो देशमा नयाँ सोच, विचार, दर्शन, भिजन, दल र नेतृत्व आवश्यक छ।” अध्यक्ष कामीले हालै भएकाे जेनजी आन्दोलनमा सरकारी दमन तथा घुसपैठ गराउनेहरूलाई तत्काल कडा कारबाही गर्नुपर्ने माग पनि राखे ।
अब ताजा जनादेशमा जानुकाे विकल्प छैन भन्दै उनले फागुन २१ का लागि तोकिएको समयसीमा भित्रै निर्वाचन सम्पन्न गर्न सरकारलाई आग्रह गरे । संयुक्त नागरिक पार्टी चुनावी प्रतिस्पर्धामा होमिइसकेको उल्लेख गर्दै उनले गितार चुनाव चिह्नमा मतदान गरी पार्टीलाई विजयी गराउन सबै मतदातासमक्ष अपिल पनि गरेका छन् ।
पार्टीका वरिष्ठ उपाध्यक्ष डा. शिवहरि भट्टराईले परम्परागत दलहरूले चुनावी वातावरणमै अस्थिरता सिर्जना गर्न थालेको आरोप लगाउँदै यसप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
साेही कार्यक्रममा पार्टीका महासचिव डा. तेजबहादुर रोक्काले “एक पटकको नेपाली सधैंका लागि नेपाली” भन्ने मान्यतालाई संस्थागत गर्न विदेशमा रहेका नेपालीहरूलाई समेत मतदान प्रक्रियामा सहभागी गराउने व्यवस्थामा सरकार संवेदनशील हुनुपर्ने सुझाव दिए ।
त्यसैगरि पार्टीका सह–महासचिव तथा प्रवक्ता विदुर अधिकारीले जेनजीहरूको साहसिक विद्रोहको स्मरण गर्दै युवा पुस्ताका माग, चाहना र भावनाअनुरूप संयुक्त नागरिक पार्टी अघि बढ्ने प्रतिबद्धता जनाए। उनले पार्टीले यसपटकको निर्वाचनमा जेनजी पुस्ताका युवा उम्मेदवारहरूलाई उल्लेख्य रूपमा अघि सार्ने स्पष्ट गरे।
अधिकारीले मुलुकमा परिवर्तनका लागि संयुक्त नागरिक पार्टी “आम नागरिकको साथी बन्ने उच्च लक्ष्य” लिएर अघि बढेको भन्दै फागुन २१ मा गितार चिन्हमा मतदान गरी पार्टीलाई विजयी गराउन आग्रह पनि गरे ।


