राजनीति सहित सबै क्षेत्रमा युवा सहभागिता बढाउनुपर्नेमा वक्ताहरूको जोड
विराटनगर । राज्यका हरेक तह र राजनीतिमा युवाहरूको प्रभावकारी सहभागिताले मात्रै मुलुकमा सुशासन र समृद्धि आउने विराटनगरमा आइतबार आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
गैर सरकारी संस्था महासंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको ‘सुशासन, भ्रष्टाचार नियन्त्रण निर्वाचन प्रक्रिया तथा जेनजी र युवा सहभागिता विषय अन्तरपुस्ता प्यानल संवाद’ कार्यक्रममा बोल्ने वक्ताहरूले सबै तह र निकायमा युवाको सहभागिता जरुरी रहेको औैंल्याए ।
कार्यक्रममा भोजपुरबाट सहभागी जेनजी युवा अर्जुन ढकालले राजनीतिसहित सबै क्षेत्रमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिए । ‘युवाहरू नयाँ सोच र दृष्टिकोणका साथ राजनीतिमा पनि अगाडि बढिरहेका छन्,’ उनले भने, ‘उनीहरूलाई राजनैैतिक दलहरूले अवसर दिनुपर्छ ।’
खोटाङबाट सहभागी अर्का युवा कञ्चन परियारले युवाहरूलाई अवसरबाट वञ्चित गरेकै कारण जेनजी जस्ता आन्दोलन भएको बताए । राजनीति, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा युवा सहभागिता नढाएसम्म सोचेजस्तो देशले विकास गर्न नसक्ने उनको दाबी थियो । तीनै तहको सरकारमा युवाको सहभागिता बढाएर भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्नेमा उनको जोड थियो ।
त्यस्तै सोही अवसरमा ‘जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण र समाधानका उपायहरू बहुपक्षीय संवाद’ आयोजना गरिएको थियो । जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा पर्ने जोखिम बढ्दै गएको वक्ताहरूले बताए । उनीहरूले जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरणका लागि तीनै तहको सरकारसहित सरोकारवाला निकाय लाग्नु आवश्यक रहेको औंल्याए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैसस महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले संस्थाहरू पनि सुध्रिनुपर्नेमा जोड दिए । उनले ठेला–रिक्सादेखि जग्गा प्लटिङ गर्ने संस्था पनि एउटै ऐनअन्तर्गत दर्ता भएका कारण अरुले गरेको नराम्रो कामको दोष पनि गैससहरू माथि लाग्ने गरेको बताए ।
‘गैससले सरकार, बजार र सरोकारवाला निकायलाई खबरदारी गर्नुपर्दछ । संघसंस्थाहरु पनि सुध्रिनुपर्दछ,’ उनले भने, ‘ठेला रिक्सादेखि जग्गा प्लटिङ गर्नेहरु संस्था पनि एउटै ऐनबाट दर्ता गरिन्छ । यसलाई हटाउनुपर्छ भन्ने हाम्रो माग हो । अरुले गल्ती गर्दा हामीमाथि दोष थोपरिन्छ । जेनजी आन्दोलनमा पनि हामीमाथि दोष थोपरियो । कसैले गल्ती गरेको छ भने कारबाही गर्नुहोस् हामी सहयोग गर्छाैं भनेर हामीले सरकारलाई पनि भनेका छौं ।’
गैससका प्रदेश अध्यक्ष लखनलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा गैससकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष नानीमैया थापा, महासचिव देवी खड्का, सचिव सरिता आङदाम्बे, केन्द्रीय सदस्य सुमन परियार, सिर्जना बस्नेत, बालकृष्ण ओझा, मोरङ अध्यक्ष विष्णु शर्मा, नियोगका प्रतिनिधि देवी बास्तोलालगायतले राजनीतिसहित सबै क्षेत्रमा पुस्तान्तरण जरुरी रहेको धारणा राखेका थिए ।
यसैबीच गैसस महासंघ कोशी प्रदेशको १७ औं साधारणसभा तथा तेस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सोमराज ढकालको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समितिसमेत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा प्रभा अधिकारी, सचिवमा चन्द्रमणि गुरागाईं, सहसचिवमा सन्तोषकुमार बस्नेत र विनोद विक कोषाध्यक्षमा चयन भएका छन् । अधिवेशनले ज्ञानु थापा, किरण घिमिरे, खगेन्द्र सापकोटा र मानबहादुर राई सदस्यमा चयन गरेको छ ।
त्यस्तै गैसस महासंघ मोरङको २१ औं साधारणसभासमेत सम्पन्न भएको छ । अध्यक्ष विष्णु शर्माको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक र वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।

