एमालेको मिक्लाजुङमा पालिका स्तरीय जन संगठन निर्वाचन परिचालन कमिटी गठन
मिक्लाजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) मिक्लाजुङले ७५ सदस्यीय पालीका स्तरीय जन संगठन निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
शुक्रबार मिक्लाजुङ–७ स्थित पार्टी कार्यालयमा आयोजित भेलाले इन्द्र श्रेष्ठको संयोजकत्वमा उक्त कमिटी गठन गरेको हो। कमिटीको उपसंयोजकमा सन्तोष खम्बु र सचिवमा रुद्र भण्डारी चयन भएका छन्।
भेलामा नेकपा (एमाले) को सूर्य चिन्हका उम्मेदवार घनश्याम खतिवडालाई मोरङ निर्वाचन क्षेत्र नं. १ बाट विजयी गराउन पार्टीका सबै तहका इकाई तथा जनसंगठनहरू पूर्ण रूपमा सक्रिय भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा युवा तथा पार्टीका वडा, गाउँपालिका र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य रामकृष्ण राईको प्रमुख आतिथ्यता तथा मिक्लाजुङ गाउँ कमिटी अध्यक्ष नगेन्द्र कार्की (नविन) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कमिटी गठनसँगै एमाले मिक्लाजुङले निर्वाचन क्षेत्र नं. १ मा घनश्याम खतिवडाको जित सुनिश्चित गर्न संगठित अभियान चलाउने तयारी गरेको छ।


