झापामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु
झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
बुद्धशान्ति-२ स्थित इन्द्रेणी चोकको भित्री सडक खण्डमा गत माघ २४ गते राति ८:३० बजे भएको सो दुर्घटनामा घाइते भएका अर्जुनधारा नगरपालिका-६ निवासी ३५ वर्षीय प्रवीण आङदेम्बेको मृत्यु भएको हो।
बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्रदेश १-०१-०१७ प ३५१४ नम्बरको मोटरसाइकल बाटोमा रोकिराखेको मे १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडिको डालामा ठोक्किएको थियो।
दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेका आङदेम्बेको बिर्तामोडस्थित बीएण्डसी (B&C) अस्पतालमा उपचार भइरहेकोमा माघ २६ गते दिउँसो २:३० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।
सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भई हाल बिर्तामोड-१ बस्ने ४८ वर्षीय हरि आङदेम्बे पनि घाइते भएका छन्। उनको हाल बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल, ट्याक्टर र मेचीनगर नगरपालिका-२ बस्ने ४० वर्षीय ट्याक्टर चालक वीर बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको छ।

