मोरङको सुन्दरहरैचाबाट पेस्तोल र वाकिटकी सहित दुई जना पक्राउ
मोरङ । अवैध हतियार लुकाइराखेको गोप्य सूचनाका आधारमा प्रहरीले मोरङको सुन्दरहरैचाबाट दुई जनालाई पेस्तोल र वाकिटकीसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगी निवासी २८ वर्षीय सिलास लिम्बु र सोही नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सिलास लिम्बुको घरमा हतियार राखिएको सूचना पाएपछि छापा मार्दा ‘मेड इन यूएस’ लेखिएको पेस्तोल एक थान, दुई थान वाकिटकी तथा भरुवा बन्दुकजस्तो देखिने काठको हतियार बरामद गरिएको छ।
बरामद हतियार अवैध भएको आशंकामा दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनामा अन्य व्यक्ति संलग्न छन् वा छैनन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

