सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा अवरुद्ध, सरकारसँग स्पष्टीकरण माग
काठमाडौं । नेपालले भारतको सीमा मिचेको भन्ने सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा तीव्र विरोध भएको छ। सो विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै सांसदहरूले बैठक अवरुद्ध गरेका छन्।
सोमबार बसेको राष्ट्रिय सभा बैठकको सुरुमै सांसदहरूले आकस्मिक समय माग गर्दै आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले दिएको सम्बोधनप्रति गम्भीर आपत्ति जनाएका थिए।
बैठकमा विशेष समय लिएर बोल्दै सांसद रञ्जित कर्णले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित र संवेदनशीलता विपरित रहेको दाबी गरे। उनले देशको कार्यकारी प्रमुखले अन्तर्राष्ट्रिय सीमाका विषयमा दिएको उक्त अभिव्यक्तिबारे सरकारले तत्काल संसद्मा स्पष्ट पार्नुपर्ने माग राखे।
सांसद कर्णपछि बोल्दै अन्य सांसदहरू राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले पनि प्रधानमन्त्रीको सम्बोधनको आलोचना गर्दै सरकारको प्रष्टीकरण माग गरेका थिए। राष्ट्रको सार्वभौमिकता र सीमा जस्तो संवेदनशील विषयमा जिम्मेवार तहबाट आएको भनाइले भ्रम सिर्जना गरेको उनीहरूको तर्क थियो।
आकस्मिक समयमा सांसदहरूले आफ्नो धारणा राखिसकेपछि पनि सरकारका तर्फबाट जवाफ आउने संकेत नदेखिएपछि उनीहरूले विरोधलाई निरन्तरता दिएका थिए। सो विषयमा सरकारले स्पष्ट नपारेसम्म सदन चल्न नदिने भन्दै सांसदहरू आ-आफ्नो आसनबाट उभिएर विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ।


