धनकुटामा प्रतिबन्धित औषधि सहित पाँच जना पक्राउ
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ मन्दिर क्षेत्रबाट प्रतिबन्धित औषधिसहित पाँच जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय छिन्ताङ र अस्थायी प्रहरी चौकी बेलहारा, धनकुटाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका सहिदभूमि गाउँपालिका–४ का ३१ वर्षीय कपिल कार्की, ३४ वर्षीय सन्देश राई, सहिदभूमि गाउँपालिका–६ का २९ वर्षीय पर्वत कार्की तथा सहिदभूमि गाउँपालिका–३ का २० वर्षीय युकेश राई र २३ वर्षीय ओविन राईलाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधि ट्रामोल–५५ क्याप्सुल र स्पास्पेनका–५० ट्याब्लेटसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएको प्रतिबन्धित लागू औषधि युकेश राईको साथबाट फेला परेको हो। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।


