धनकुटाबाट ७ सय ७५ किलो गाँजा सहित मिनी ट्रक चालक पक्राउ
धनकुटा,१५ असार । धनकुटामा प्रहरीले ७७५ किलोग्राम गाँजासहित एक मिनी ट्रक चालकलाई पक्राउ गरेको छ।
जिल्लाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेस्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रकलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो।
प्रहरीका अनुसार ट्रकको ढालाभित्र आलुको बोराले छोपेर कालो प्लास्टिकमा लुकाइ राखिएको अवस्थामा ७७५ किलोग्राम गाँजा फेला परेको थियो।
घटनामा संलग्न रहेको आरोपमा मिनी ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कुँवरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


