धनकुटामा ३७ किलोभन्दा बढी गाँजा सहित दुई जना पक्राउ
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौकमा प्रहरीले ३७ किलो ६१० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
गत असार १७ गते दिनको करिब ३ बजे इलाका प्रहरी कार्यालय भेडेटारको चेकिङ टोलीले भोजपुरबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२००१ च ४५३१ नम्बरको ईभी गाडी जाँच गर्ने क्रममा यात्रुले बोकेको जेब्रा झोला र बोराबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
पक्राउ पर्नेमा साँगुरीगढी–९ आहालेका ४५ वर्षीय लोकबहादुर राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ कुलुङकी ३१ वर्षीया बिनिता कार्की रहेका छन्।
दुवैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई आवश्यक अनुसन्धानपछि जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


