धनकुटा जिल्ला अस्पताल आसपासका ७ होटलमा अनुगमन, एक होटललाई १५ हजार रुपैयाँ जरिवाना
धनकुटा, असार २४ । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्ला अस्पताल परिसर र आसपास सञ्चालनमा रहेका सात वटा होटल तथा रेष्टुरेन्टमा बजार अनुगमन गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीको नेतृत्वमा बुधबार सम्पन्न अनुगमनमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा काफ्ले होटल एण्ड लजलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।
त्यसैगरी, उक्त होटलबाट दुई लिटर गुणस्तरहीन फ्राइङ तेल, सोही तेलमा पकाइँदै गरेका समोसा नष्ट गरिएको छ भने उत्पादन मिति उल्लेख नभएका १७ प्याकेट चटपटे खाजा बरामद गरिएको छ।
अनुगमन टोलीले अन्य होटल तथा रेष्टुरेन्टलाई भान्सा तथा परिसरको सरसफाइ कायम गर्न, अनिवार्य रूपमा मूल्यसूची राख्न तथा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ।
अनुगमन गरिएका होटल तथा रेष्टुरेन्टहरूमा रक्षा एण्ड रस्मी होटल, काफ्ले होटल एण्ड लज, होटल धनकुटा, लेङ्गसुवा रेष्टुरेन्ट, होटल एभरेष्ट, न्यू अञ्जली होटल एण्ड लज तथा होटल लालीगुराँस एण्ड लज रहेका छन्।


