नेपाली कांग्रेस परित्याग गरेकी पूर्व संविधानसभा सदस्य अञ्जना ताम्ली सहित २५० जना श्रम संस्कृति पार्टीमा प्रवेश
धनकुटा । नेपाली कांग्रेस परित्याग गरेकी पूर्व संविधानसभा सदस्य अञ्जना ताम्ली सहित विभिन्न राजनीतिक दलका करिब २५० जना श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेमा आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
असार २० गते नेपाली कांग्रेसको समानुपातिकतर्फकी पूर्व संविधानसभा सदस्य तथा महासमिति सदस्य अञ्जना ताम्लीसहित कोशी प्रदेश सदस्य मिना राईलगायत १९ जनाले कांग्रेस परित्याग गरेका थिए। त्यसलगत्तै उनीहरूसहित कांग्रेसका क्षेत्रीय पदाधिकारी, प्रतिनिधि, क्रियाशील सदस्य र स्थानीय नेता–कार्यकर्ता गरी वडा नं. २ का १२६ घरधुरीबाट २५० भन्दा बढी व्यक्ति श्रम संस्कृति पार्टीमा आबद्ध भएको जनाइएको छ।
यसैगरी नेकपा एमालेबाट बमप्रसाद ताम्ली, टंक लुङवा, जेभी रोगु, भैरव लिम्बुखिम, तिलबहादुर लुम्बा, विष्णुभक्त लिंखा, रामप्रसाद रोगु, नरबहादुर तुम्बा, लालबहादुर लुम्बा लगायत पनि श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
जनता समाजवादी पार्टीबाट पनि गुमानध्वज रोगुको नेतृत्वमा एक समूह श्रम संस्कृति पार्टीमा प्रवेश गरेको नवप्रवेशी युवेन तुम्बाले जानकारी दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हर्क साङपाङले सबै मिलेर पार्टी सुदृढ बनाउन र आगामी स्थानीय तह निर्वाचनमा जित हासिल गर्ने लक्ष्यका साथ संगठन विस्तारमा जुट्न आग्रह गरे। उनले श्रमको सम्मान र श्रमिकको अधिकारलाई पार्टीको मूल आधार बनाउँदै संगठन विस्तार अभियानलाई तीव्र बनाइने बताए।


