धनकुटाको छथर जोरपाटी गाउँपालिकाले दियो भोलि सार्वजनिक बिदा
धनकुटा, असार ३२ । साउने सङ्क्रान्तिको अवसरमा धनकुटाको छथर जोरपाटी गाउँपालिकाले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको निर्णयअनुसार साउन १ गते गाउँपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय तथा स्वास्थ्य संस्थाहरू (अत्यावश्यक स्वास्थ्य सेवा बाहेक) मा एक दिन सार्वजनिक बिदा रहनेछ।
गाउँपालिकाले बुधबार सूचना जारी गर्दै सम्बन्धित सबैलाई जानकारी गराएको हो।
यसै अवसरमा गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले गाउँपालिकावासी सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा साउने सङ्क्रान्तिको शुभकामना व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको कामना गरेका छन्।



