खोटाङमा भरुवा बन्दुक सहित दुई युवक पक्राउ
खोटाङ । खोटाङको साकेला गाउँपालिका–१ सेखुवाबाट प्रहरीले भरुवा बन्दुक तथा त्यससँग सम्बन्धित सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन ८ गते दिउँसो करिब २ बजे उर्गेन राईले आफ्नै घरमा अवैध रूपमा भरुवा बन्दुक लुकाइराखेको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले साकेला गाउँपालिका–१ सेखुवाका २८ वर्षीय उर्गेन राई र सोही स्थानका २४ वर्षीय दिपेन राईलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो।
सोधपुछका क्रममा उर्गेन राईको घरबाट करिब ३० मिटर उत्तरतर्फ रहेको निजकै जग्गाको बनमारा झाडीभित्र लुकाइराखिएको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी प्रहरीले पाँच थान फलामका टुक्रा, बारुद जस्तो देखिने कालो धुलो पदार्थ दुई प्याकेट, काटीसहितका तीन थान सलाईका प्याकेटलगायत हातहतियार निर्माण तथा प्रयोगमा प्रयोग हुन सक्ने सामग्री पनि बरामद गरेको छ।
पक्राउ परेका उर्गेन राई र दिपेन राईविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा खोटाङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


