ईभी भ्यान त्रिशूली नदीमा खस्यो, चालक बेपत्ता
रसुवा — रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ चिलिमे पुलस्थित पासाङ ल्हामु सडकखण्डमा शनिबार साँझ एक ईभी (विद्युतीय) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्।
प्रहरीका अनुसार शनिबार साँझ करिब ५:४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको ‘अन टेस्ट’ ईभी भ्यान सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेको हो।
दुर्घटनामा परेको भ्यानका चालकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। साथै, गाडीमा चालकबाहेक अन्य व्यक्ति सवार थिए वा थिएनन् भन्ने विषय पनि यकिन हुन सकेको छैन। मानवीय क्षतिको विवरणसमेत अझै पुष्टि हुन बाँकी छ।
प्रहरी तथा उद्धार टोलीले बेपत्ता चालक र नदीमा खसेको ईभी भ्यानको खोजी तथा उद्धार कार्य जारी राखेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


