आइफोनको विवादमा १७ वर्षीय लजिन थापाको हत्या, चार जना पक्राउ
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार साउन १ गते राति लजिन आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीले राति करिब १०:३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए।
साउन २ गते परिवारले लजिन बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए। त्यसपछि गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीको सहयोगमा व्यापक खोजी तथा अनुसन्धान गरिएको थियो।
अनुसन्धानकै क्रममा साउन ९ गते बिहान करिब ९:१५ बजे बडिगाड गाउँपालिका–१ स्थित मनखोलाको खोल्सामा लजिनको शव फेला परेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ।
घटनामा संलग्न रहेको आरोपमा सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वनलाई पक्राउ गरिएको छ। उनीहरूविरुद्ध यसअघि व्यक्ति बेपत्ता पार्ने कसुरमा अनुसन्धान सुरु गरिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आइफोनको विषयमा भएको विवादले कुटपिटको रूप लिँदा लजिनको मृत्यु भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


