मोरङमा खैरो हेरोइन सहित भारतीय प्रहरी चौकीदार पक्राउ
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी खरेबारी सडकखण्डबाट खैरो हेरोइन सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्यका ४३ वर्षीय भक्ति पासवान रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ८ गते विशेष सूचनाका आधारमा प्रहरी चौकी सिक्टी, प्रहरी चौकी बरडङ्गा र बीओपी सिक्टीबाट खटिएको संयुक्त टोलीले खरेबारीबाट नेपाल चोकतर्फ आउँदै गरेको BR 38K 3179 नम्बरको भारतीय मोटरसाइकललाई शंकाको आधारमा रोक्दै जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलको टुलबक्सभित्र प्लास्टिकका १० वटा साना प्याकेटमा लुकाइराखिएको ०.८२ ग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले मोटरसाइकलसहित चालक पासवानलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका भक्ति पासवान भारतको बिहारस्थित मुरारिपुर पञ्चायत सिक्टी निवासी हुन्। उनी बिहार ग्रामीण प्रहरीमा चौकीदार पदमा कार्यरत भई हाल सिक्टी थाना, अररियामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनीविरुद्ध लागू औषध सम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


