धनकुटामा प्रतिबन्धित लागुऔषध सहित १८ वर्षीय युवक पक्राउ
धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिका–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
मंगलबार अपराह्न करिब ४ बजे प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी चौकी आँखिसल्लाबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) अजयकुमार राईको कमाण्डमा खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–६ पानिटार निवासी रायबहादुर राईका १८ वर्षीय छोरा रबिन राईको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न प्रकारका प्रतिबन्धित औषधि बरामद भएपछि रबिन राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका प्रतिबन्धित औषधिहरूमा:
* Tramol-50 का ७५ पत्ता (७५० क्याप्सुल),
* Dicyclomine Hydrochloride IP 20 mg का ४६ पत्ता (४६० ट्याब्लेट), र
* Dicyclomine HCI IP 20 mg का ३७ पत्ता (३७० ट्याब्लेट) रहेका छन्।
नियन्त्रणमा लिइएका रबिन राईलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


